दरबारमार्गका फरार 'ठग' व्यापारी पक्राउ
बढी मूल्य लिई लत्ताकपडा, जुत्ता, घडीलगायतका सामानमा ठगी गर्ने दरबारमार्गका ’फरार’ व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार साँझ दरबारमार्ग र ठमेलबाट उनीहरुलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएका प्रहरीले ९ जना व्यापारीलाई पक्राउ गरेको एसएसपी रवीन्द्र धानुकले बताए ।
पक्राउ पर्नेमा राजेश्वर श्रेष्ठ, सुवास महर्जन, जितेन्द्र महर्जन, श्रीकृष्ण महर्जन, रोशन ओडारी, रौनक शर्मा, उत्तमकुमार बस्नेत, प्रवीण झा र तुलसीधर भण्डारी रहेका छन् ।
उनीहरुलाई कालोबजारी ऐन अन्तर्गत मुद्धा चलाइएको छ । उनीहरुलाई काठमाडौं परिसरमा राखिएको धानुकले बताए ।
आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको टोलीले भदौ १९ र २१ गते दरबारमार्गका पसल अनुगमन गर्दा अत्यधिक नाफा लिने गरेको फेला पारेपछि ९ वटा पसलमा सिल गरिएको थियो । दुईवटा पसलमा भने सिलबन्दी गरिएको थिएन । विभागले ती दुई लत्ताकपडा व्यवसायीलाई पनि कारबाहीका लागि सिफारिस गरेको थियो ।
आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले अत्याधिक मुनाफा राखी बिक्री गरेको निष्कर्षसहित कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ अनुसार कारबाही गर्न फाइल बुझाएको थियो । विभागले पेस गरेको फाइलको आधारमा परिसरले असोज २१ गतेबाट अनुसन्धान थालेको हो ।
भदौ २१ गते दरबारमा पुनः अनुगमन गर्दा छुटका नाममा व्यापारीले थप ठगी गरिरहेको फेला परेपछि अनुगमन टोलीले वाच एन्ड सी, सुलक्स सेन्टर, लेबल्स स्टोर प्रालिको रिबक, लाइन्स स्टाइल इन्टरप्राइजेज प्रालिको बोसिनी, लेबल्स स्टोर प्रालिका पसल सिलबन्दी गरेको थियो ।
durbarmarg