दरबारमार्गका ठग व्यापारीको बज्न थाल्यो बाजा, धमाधम पक्राउ
काठमाडौं । सस्तो मूल्यमा खरीद गरी चर्काे मूल्यमा बिक्री गर्ने दरबारमार्गका ‘फरार’ व्यापारीहरुको अब १२ बज्ने भएको छ । प्रहरीले धमाधम पक्राउ गर्न थालेपछि उनीहरुमा आतंक छाएको छ । दरबारमार्गका व्यापारीहरुले खरीद मूल्य भन्दा धेरै प्रतिशत नाफा खाएर सामान बेच्ने गरेको गुनासो आएपछि मन्त्रीकै अगुवाई त्यहाँ छापासमेत मारिएको थियो । व्यापारीहरुले लत्ताकपडा, जुत्ता घडीलगायतका सामानमा बढी मूल्य लिई ठगी गर्दै आएको खुलासा यसअघि नै भएको थियो ।
त्यस्ता व्यापारीमध्ये महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएका प्रहरीले ९ जनालाई पक्राउ गरिसकेको छ । एसएसपी रवीन्द्र धानुकका अनुसार, पक्राउ पर्नेमा राजेश्वर श्रेष्ठ, सुवास महर्जन, जितेन्द्र महर्जन, श्रीकृष्ण महर्जन, रोशन ओडारी, रौनक शर्मा, उत्तमकुमार बस्नेत, प्रवीण झा र तुलसीधर भण्डारी रहेका छन् । उनीहरुलाई काठमाडौं परिसरमा राखिएको छ र कालोबजारी ऐनअन्तर्गत मुद्धा चलाइएको छ ।
महानगरीय प्रहरी परिसर टेकुले यसअघि १३ व्यवसायीलाई कार्यालयमा उपस्थित हुन पत्र काटेको थियो । तर उनीहरु प्रहरीमा उपस्थित नभई पसलमा कामदार राखेर ‘फरार’ भएका थिए ।
आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको टोलीले भदौ १९ र २१ गते दरबारमार्गका पसल अनुगमन गर्दा अत्यधिक नाफा लिने गरेको फेला पारेपछि ९ वटा पसलमा सिल गरिएको थियो । दुईवटा पसलमा भने सिलबन्दी गरिएको थिएन । विभागले ती दुई लत्ताकपडा व्यवसायीलाई पनि कारबाहीका लागि सिफारिस गरेको थियो ।