News

छुट्टा-छुट्टै दुर्घटनामा ४ जनाको मृत्युः ४० घाइते

छुट्टा-छुट्टै दुर्घटनामा ४ जनाको मृत्युः ४० घाइते

काठमाडौं । दाङको लमही नगरपालिका (१ नर्तीमा आज बिहान ट्रक र ट्याक्सी एक आपसमा ठोक्किदा २ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।

मृत्यु हुनेहरुमा घोराही उपमहानगरपालिका अम्बापुरका दुर्गा रेग्मी र राप्ती गाउपालिका ६ पथ्थरगडुवाका रामपति चौधरी रहेको हाम्रा सहकर्मी दशरथ घिमिरे जानकारी दिएका छन् । घाइते सबैको लमही अस्पतालमा उपचार भइरहेको छ ।

यता, काठमाडौंको सिंहदरबार चोक नजिकै ट्याक्सी र मोटरसाइकल ठोक्किँदा धादिङका रुप घलेको मृत्यु भएको छ । आज बिहान बा २ ज २३ ४४ नम्बरको ट्याक्सीले बा ३३ प ७४३ मोटरसाइकललाई ठक्कर दिँदा धादिङ रुबीभ्यालीका २१ वर्षका रुप घलेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैबीच, कपिलवस्तुमा एम्बुलेन्स र मोटरसाइकल एकापसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । प्यूठानबाट भैरहवा जाँदै गरेको रा१च ६५५ नंको एम्बुलेन्स र लु३०प ५२५३ नंको मोटरसाइकल शुद्धोधन गाउँपालिका–६ मा एकापसमा ठोक्किँदा मोटरसाइकल चालक रुपन्देहीको कोटिवामायी गाउँपालिका–५ का २३ वर्षीय रोहित यादवको मृत्यु भएको हो ।

एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका यादवको भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय पकडीका प्रहरी निरीक्षक विकास थापाले जानकारी दिनुभयो । एम्बुलेन्सलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

उता, बैतडीको मेलौलीबाट कञ्चनपुरको भीमदत्तनगर जादै गरेको यात्रुबाहक बस कैलालीको चुरे गाउँपालिका–३ धपेनी भन्ने ठाउँमा आज बिहान दुर्घटना हुँदा २७ जना घाइते भएका छन् ।

अत्तरिया–डडेल्धुरा भीमदत्तमार्गको धपेनी, सहजपुर नजिकै पवनदूत यातायातको ना ७ ख २७२३ नंम्वरको बस सडकबाट करिब ६० मिटर तल खसेको अस्थायी ट्राफिक प्रहरी पोष्ट फल्टुडेका ट्राफिक प्रहरी हवलदार वीरसिंह धामीले जानकारी दिनुभएको छ ।

घाइतेमध्ये १५ जनाको अवस्था गम्भीर रहेको वताइएको छ । घाइतेमध्य पाँचजनालाई उपचारका लागि अत्तरियास्थित पद्मा अस्पताल पठाइएको छ । दुर्घटनापछि सशस्त्र र नेपाल प्रहरीको टोली घटनास्थल पुगेर घाइतेको उद्दारमा खटिएको छ ।

विशेष