News

व्यवसायी गौचनको हत्यामा संलग्न पाँचजना पक्राउ

व्यवसायी गौचनको हत्यामा संलग्न पाँचजना पक्राउ

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न पाँच जना पक्राउ परेका छन् ।

हत्यामा संलग्न भारत विहारका मुकेशकुमार पाण्डे, काठमाडौंका प्रकाश बुढाथोकी, नुवाकोटका राजिव स्याङतान, पर्साका शिवजी महतो र सन्तोष गुरुङ रहेको प्रहरीले जनाएको छ । हत्यामा संलग्न सुटर र अन्य सहयोगीहरु पक्राउ परेपनि मुख्य योजनाकार भने फरार रहेकाे बताएका छन् ।

प्रहरीका अनुसार गौचनको हत्यामा गुण्डानाइके समिरमान सिंह बस्नेत र मनोज पुनको संलग्नता छ । विभिन्न अपराधिक घटनामा संलग्न भएको अभियोग लागेका बस्नेतले देश बाहिरबाटै हत्याको योजना बनाएकाे बताइएकाे छ ।

पक्राउ परेका मध्ये २१ वर्षीय राजीव स्याङतानले गौचनमाथि गोली प्रहार गरेका थिए । त्यस्तै, ३५ वर्षीया शिवजीले हतियार र मोटरसाइकलको व्यवस्थापन गरेका थिए । विहारका २४ वर्षीय मुकेशले हतियार दिलाएका थिए भने पर्साका सन्तोषले मोटरसाइकल दिएका थिए ।

एक महिनादेखि गौचनको निगरानी गरेर हत्या गरेको प्रहरीले जनाएको छ । हत्यामा प्रयोग भएको मोटरसाइकल भारतबाट चोरिएको र नेपाली नम्बर प्लेट राखेर प्रयोग गरिएको थियो । हत्यामा संलग्न समिरमान र मनोजसँगै लोप्साङ, बोका भन्ने गंगा लिङ्देन (लिम्बु), श्यामबहादुर गुम्बे, काले दाई भन्ने अम्बरबहादुर राना, रोशन बुढाथोकी र अजय थापा फरार छन् ।

शरदकुमार गौचनको २३ असोज दिउँसो ३ बजे गोली हानी हत्या गरिएको थियो । काठमाडौंको शान्तिनगर, खरिबोटस्थित घरबाट निस्केर अलि पर पुगेका गौचनमाथि दुईजना व्यक्तिले गोली हानी भागेका थिए । गौचन चढेको गाडीको अगाडिबाट गोली हानिएको थियो । गौचनमाथि तीनओटा गोली हानिएको थियो । एउटा गोली मुटुमा, एउटा कलेजोमा र एउटा गोली पेटमा लागेका गौचनलाई तत्काल नयाँनेश्वरस्थित सिभिल अस्पताल लगिएकामा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

murder sharadkumar gauchan

विशेष