विदेश

न्यूयोर्कको फुटपाथ र साइकल लेनमा ट्रक जोताउँदा ८ जनाको मृत्यु

न्यूयोर्कको फुटपाथ र साइकल लेनमा ट्रक जोताउँदा ८ जनाको मृत्यु

न्यूयोर्क । अमेरिकाको न्यूयोर्कमा एकजनाले फुटपाथ र साइकल लेनमा जानाजान ट्रक जोताउँदा कम्तीमा आठजनाको ज्यान गएको छ। घटनामा कम्तीमा १२ जना घाइते भएको न्यूयोर्क प्रहरीले जनाएको छ ।

लोअर म्यानह्याटनमा ती व्यक्तिले फुटपाथ र साइकल लेनमा पिक-अप ट्रक जोताएपछि सुरुमा एउटा स्कूल बससँग ठोक्किएको थियो । त्यसपछि २९ वर्षीय ती आक्रमणकारीले दुईवटा बन्दुक राखिएको आफ्नो ट्रक छाडेका थिए। लगत्तै प्रहरीले उनलाई गोली हानी नियन्त्रणमा लिएको छ।

प्रहरीले ठूलो आतंकवादी षड्यन्त्र अन्तर्गत आक्रमण गराइएको भन्ने दिशामा हालसम्म कुनै प्रमाण फेला नपरेको जनाएको छ। न्यूयोर्कका प्रहरी आयुक्तले घाइतेहरुलाई गम्भीर चोटपटक लागेपनि ज्यानै लिने खालको चोट नभएको बताएका छन्।

एकजना प्रत्यक्षदर्शीले भने, ‘प्रहरीले ट्रक चालकलाई गोली हानेपछि सबैजना भाग्न थाले र स्थिति अलि असहज भयो। एकछिन रोकिएर मैले हेर्दा ट्रक चालक ढलिसकेका थिए।’ अर्का प्रत्यक्षदर्शीले ९ र १० राउण्ड गोली चलेको आवाज आफूले सुनेको बताए।

विशेष