विदेश

एक महिलाले बीबीसीकी संवाददाता नोमिया इक्बाललाई दिएकाे बयान, जसले तपाईंलाई रुवाउने छ

एक महिलाले बीबीसीकी संवाददाता नोमिया इक्बाललाई दिएकाे बयान, जसले तपाईंलाई रुवाउने छ

संयुक्त राष्ट्र संघले जनाए अनुसार म्यानमारको रकाइनबाट भागेर बंगलादेश आएका पाँच लाख भन्दा बढी रोहिंग्या शरणार्थीहरु यौन शोषणको जोखिममा रहेका छन् ।

एक महिलाले बीबीसीकी संवाददाता नोमिया इक्बाललाई आफू म्यानमारबाट भागेर आएपछि कसरी उनलाई यौनकार्यका लागि बाध्य पारिएको थियो भन्ने कथा सुनाइन् ।

गुलाबी ओढ्नेले अनुहार ढाकेकी २१ वर्षीया हलिमाले म (नोमिया इक्बाल) सँग एकान्तमा कुरा गर्न सहमत भइन् ।

‘जब हामी बंगलादेशभित्र आयौं हामीलाई शिविरमा लगियो । त्यहाँ एक स्थानीय बंगलादेशी मानिसले केही खानेकुरा दियो । उसले मलाई उसकी श्रीमतीको निधन भइसकेको र उसका दुईवटा बच्चाहरु भएको बतायो । उसले मसँग बिहे गर्न चाहेको कुरा भन्यो’–हलिमाले भनिन् ।
हलिमाले उसलाई विश्वास गरेकी थिइनन् तर उसँगै कग्स् बजारस्थित उसको घर गइन् ।

‘जब म घरमा पुगें मैले म जस्तै सात–आठ जना केटीहरुलाई देखें । म डराएकी थिएँ । त्यो घरमा उसले मलाई धेरै मानिसहरुसँग यौन सम्बन्ध राख्न दबाब दियो’–उनले भनिन् ।

हलिमा तीन महिनाअघि उत्तरी रकाइनको हिंसाबाट बच्न छिमेकीसँग बंगलादेश आइन् । उनलाई उनको परिवार कहाँ छ भनेर थाहा छैन । आधा भन्दा धेरै मुसलमान रोहिंग्या शरणार्थीहरु बालबालिका रहेका छन् ।

हलिमाले भनिन् उनी त्यस घरमा दुई महिना बसिन र त्यो घर बंगलादेशी महिलाद्घारा सञ्चालित थियो ।
‘मलाई आकर्षक कपडा लगाउन दिइयो र श्रींगार पनि गराइयो । कहिलेकाहिं एकै रातमा तीनदेखि चार जनासम्म मानिसहरु घरमा आउँथे ।

 

धेरै गाह्रो हुन्थ्यो र दिनभर रगत बगिरहन्थ्यो’–उनले भनिन् ।
उनलाई एक दिनमा तिन पटक खाना दिन्थे, तर पैसा भने दिंदैनथे ।
एक साँझ घरमा एउटा मानिस आयो । उसले हलिमाको मद्दत ग¥यो ।

‘त्यो मानिस प्रहरी अधिकृत रहेछ । उ यौन सम्पर्कको लागि आएको थियो तर मेरो कथा सुनेपछि मलाई ‘बहिनी’ भनेर सम्बोधन ग¥यो । उ रातभर बस्यो तर केहि गरेन र मलाई उसको फोन नम्बर दियो’–हलिमाले भनिन् ।

एक दिन उनी घर मालिक्नीको हिंसात्मक आक्रमणबाट पीडित भइन् र १५ दिनसम्म घाइते भइन् । उनले त्यहाँबाट भाग्नका लागि योजना बनाउने निर्णय गरिन् र एक दिन जब अर्को मानिस यौन सम्पर्कको लागि आयो उनले उसको फोन प्रयोग गरिन् र प्रहरीलाई खबर गरिन् । प्रहरी अधिकारीहरु मध्यरातमा आइपुगे ।

‘उनीहरुले मलाई उद्रार गरे र अरु छ जना केटीहरुलाई पनि । उसले भन्यो अब तिमी स्वतन्त्र छौ’–उनले भनिन् ।
तर हलिमा अहिले त्यही कोग्स् बजारमा छिन् किनकि उनले बंगलादेशमा यो ठाँउ बाहेका अरु चिनेकी छैनन् । उनीसँग पैसा छैन । उनीसँग देह व्यापारमा लाग्नु बाहेक कुनै विकल्प छैन, उनी भन्छिन् ।

उनी अहिले यौन व्यवसायमा संलग्न महिलासँग बस्छिन् । उनले भनिन् त्यहँं खाना र सहयोग उपलब्ध छ ।
‘म घर फर्कन चाहन्छु । एक दिनमा पाँच पटक प्रार्थना गरेर, मेरो परिवारसँंगै बसेर खाना खाने’– उनले भनिन्, “म त्यो जिन्दगी चाहन्छु । जुन पहिले मेरो परिवारसंँगै म्यानमारमा थियो ।’

विशेष