News

अस्तायो प्रकाशको दियो

अस्तायो प्रकाशको दियो


काठमाडौं । पूर्वप्रधानमन्त्री एबं माओवादी अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०पुत्र प्रकाश दाहालको निधन भएको आशंकासहित बिहान सबेरैदेखि खबर प्रवाह भएका थिए । निधनको औपचारिक जानकारी दिउँसो १२ बजेपछि मात्र दिइएको थियो । तर, प्रकाशप्रतिको श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारप्रति समवेदनाको क्रम भने त्यस अघि नै सुरु भैसकेको थियो ।

चुनावीसभालाई सम्बोधन गर्न झापा पुगेका प्रचण्ड पुत्र प्रकाशको निधनको अकल्पनीय खबरले भावविह्वल हुँदै काठमाडौं फर्किएलगत्तै नर्भिक अस्पतालभन्दा पहिले लाजिम्पाटस्थित निवास पुगे, जहाँ पुत्रशोकमा विह्वल पत्नी सीता थिइन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी पुत्रशोकमा रहेका दाहाल दम्पतीलाई भेट्न उनी निवास पुगेलगत्तै लाजिम्पाट पुगिन् र, दाहाल परिवारप्रति समवेदना व्यक्त गरिन् ।

उपराष्ट्रपति नन्दबहादुर पुन पनि दाहाल निवास लाजिम्पाट पुगे । उनी त्यसपछि पार्टी कार्यालय पेरिसडाँडा पनि पुगेर शोकाकुल परिवारमा समवेदना व्यक्त गरे ।

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रकाश दाहालको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् । प्रधानमन्त्री देउवाले ट्वीटरमार्फत प्रकाशको निधनप्रति श्रद्धाञ्जली दिएका हुन् ।

यसैगरी नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रकाश दाहालको असामयिक निधनप्रति शोक व्यक्त गरेका छन् । झापाको काँकरभिट्टामा चुनावी सभालाई सम्बोधन गर्न पुगेका ओलीले दाहाल परिवार तथा माओवादी केन्द्र पार्टीमा परेको शोकमा व्यक्तिगत तथा पार्टीको तर्फबाट समवेदना व्यक्त गरे ।

यस्तै पूर्वराजा ज्ञानेन्द्र शाहले पनि प्रकाशको निधनप्रति दुःख व्यक्त गरेका छन् । ज्ञानेन्द्रका मुख्य सचिव पशुपतिभक्त महर्जन माओवादी पार्टी कार्यालय कोटेश्वर पुगेर शोक व्यक्त गरेका थिए ।

विभिन्न दलका नेताहरुले पनि प्रकाश दाहालको निधनप्रति विभिन्न माध्यमबाट समवेदना व्यक्त गरेका छन् ।

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, माधव नेपाल, लोकेन्द्रबहादुर चन्द, मन्त्रिपरिषदका पूर्व अध्यक्षलगायतले पशुपति आर्यघाट पुगेर श्रद्धाञ्जलि व्यक्त गरे ।

यस्तै छिमेकी मुलुक भारतकी विदेशमन्त्री सुष्मा स्वराजले ट्वीट गर्दै प्रकाश दाहालको निधनप्रति दुःख प्रकट गर्दै आत्माको चिर शान्तिको कामना गरेकी छन् ।

२०३८ असार १७ गते जन्मिएका प्रकाश दाहाल प्रचण्ड दम्पतिका एकमात्र छोरा थिए । तीन दिदीका एक्ला भाइ प्रकाशले आफ्नो बुबाको स्वकीय सचिवको जिम्मेवारी सम्हाल्दै उनलाई हरेक हिसाबबाट साथ र सहयोग दिंदै आएका थिए ।

सशस्त्र युद्धको समयमा भूमिगतकालदेखि नै प्रकाश आफ्ना बुबाको साथमा थिए । दाहालका राजनीतिक व्यवस्थापकीय लगायत सुरक्षा, स्वास्थ्य र सञ्चार व्यवस्थामा अन्तिम समयसम्म पनि उनले महत्वपूर्ण भूमिका निभाउँदै आएका थिए ।

सार्वजनिक जीवनका केही पक्षमा भने प्रकाश आलोचित रहे । केही वर्ष अघि सगरमाथा आरोहणका लागि तत्कालीन सरकारले उनको समूहलाई २ करोड रुपैयाँ आर्थिक सहायता दिंदा त्यसको आलोचना भएको थियो । यसपछि प्रकाशले सरकारी रकम नलिने घोषणा गरेका थिए ।

बहुविवाह र केही व्यक्तिगत आचरणका कारणबाट पनि प्रकाशको आलोचना हुने गरेको थियो । पुष्पकमल दाहाल दोस्रो पटक प्रधानमन्त्री हुँदा भने प्रकाशले आफ्नो विगतको छविमा निकै सुधार गरेका थिए ।

चार वर्ष अघि दाहाल दम्पत्तिको जेठी छोरी ज्ञानु केसीको ४० वर्षको उमेरमा क्यान्सरका कारण निधन भएको थियो । बाबुआमालाई सन्तान वियोगको अर्को असह्य बेदना छोडेर प्रकाश दाहाल अल्पायुमा सदाका लागि अस्ताएका छन्, कहिल्यै नफर्कने गरी ।

विशेष