विदेश

जब विवाह समारोहमै १३ जनाको ज्यान जाने गरी यो दुःखान्त घटना भयो

जब विवाह समारोहमै १३ जनाको ज्यान जाने गरी यो दुःखान्त घटना भयो

नयाँदिल्ली । वैवाहिक समारोह भइरहेको ठाउँमा विद्युत ट्रान्सफर्मर विस्फोटन हुदाँ भारतमा १३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना गर्भवती महिलासमेत रहेको प्रहरी अधिकारीहरूले बुधबार जानकारी दिएका छन् । 

“चार जनाको घटनास्थलमै मृत्यु भयो,” स्थानीय एक प्रहरी अधिकारी रामेश्वर सिंहले एएफपीसँग भने । उनले थपे–हामीले घटनाको कारणका बारेमा जाँचबुझ गरिरहेका छौं ।” 

विस्फोटनमा परी घाइते भएका वा पोलिएका मध्ये केहीको स्थानीय अस्पतालमा उपचार भइरहेको पनि सिंहले जानकारी दिए । स्थानीयबासिन्दाले ट्रान्सफर्मर मर्मत गर्न आफूहरूले पटक पटक विद्युतका कर्मचारीहरूलाई आग्रह गरेको भए पनि उनीहरूले कुनै वास्ता नगरेको बताएका छन् । 

विद्युत वितरण गर्ने र विद्युतको गति तथा मात्रालाई नियन्त्रण गर्ने एक प्रकारको यन्त्र वा विद्युत संजालको एक भागलाई ट्रान्सफर्मर भनिन्छ । भारतमा विद्युत प्रणालीमा भएको गडबडीका कारण धेरै दुर्घटना हुनेगरेको छ । विषेश गरेर विद्युतीय सामग्रीहरूको पर्याप्त र उचित मर्मत नहुनु तथा ग्रामीण क्षेत्रमा आवश्यकता अनुसारको बजेटको व्यवस्था नहुनुका कारण दुर्घटना हुनेगरेको बताइएको छ । 

गत सन् २०१५ मा मात्रै भारतमा विद्युतीय दुर्घटनाका कारण झण्डै दश हजार जनाको मृत्यु भएको सरकारी तथ्यांक छ । 

विशेष