News

दुई/दुई पटक छतबाट हाम फालेर ज्यान बचाए यी पत्रकारले

पत्रकार एकिन्द्र तिमिल्सिनाको स्थलगत रिपोर्ट

दुई/दुई पटक छतबाट हाम फालेर ज्यान बचाए यी पत्रकारले

कैलालीको बर्दगोरिया गाउँपालिका बौनियामा कार्यरत पत्रकार लक्ष्मी जैशी र उनको परिवारका सदस्यलाई शनिबार राति १२:४० को समयमा अज्ञात समूहले सांघातिक आक्रमण गर्‍यो ।


आक्रमणबाट पत्रकार लक्ष्मी, उनका आमा नन्दी, श्रीमती दुर्गा र दिदी कृष्णालाई चोट लागेको छ । लक्ष्मी र उनकी आमाको नेपालगंज नर्सिङ होममा उपचार भइरहेको छ । श्रीमती र दिदी उपचारपछि घर कुरेर बसिरहेका छन् ।


शनिबार राति १२:४० तिर आएको समूहले लक्ष्मीलाई सुतेकै कोठाबाट उठाएर मुख थुनेर घरबाहिर लगेर आक्रमण गरेछन् ।
आक्रमणकारीहरूले पहिल्यै घरबाहिर रहेको मोटरसाइकलको चोक बन्द गरेका रहेछन् । विद्युतको मेन स्वीच पनि बन्द गरेका रहेछन् । त्यसपछि लक्ष्मीकी आमा र भाइहरू र दिदी सुतेको ढोका बन्द गरेछन् । त्यसपछि ढुंगाइट्टाले हानेर लक्ष्मी सुतेको ढोकाको चुकुल तोडेर भित्र पसेका रहेछन् ।

लक्ष्मीलाई बाहिर लगेपछि उनकी श्रीमती दुर्गाले सासु, देवर र दिदी सुतेको कोठा खोली दिएपछि उनीहरू निस्के र आक्रमणकारीसंग केही बेर झडप भएछ । लक्ष्मीकी दिदी कृष्णाका अनुसार उनीहरू बाहिर निस्कदा लक्ष्मीको टाउकोमा रगत बगिरहेको थियो ।

आक्रमणकारीबाट उम्किएर घरको छतमा गएका पनि उनीहरूले पिछा नछोडेपछि झण्डै १३ फिट अग्लो घरबाट हाम फालेका थिए । आक्रमणकारीले तिमी भागे पनि तिम्रो परिवारका तीन जनालाई छोडदैनौ भनेपछि लक्ष्मी घर पसेका थिए ।

वरिपरि झण्डै ७/८ फिट अग्लो पर्खाल भएकाले भित्र पसेका लक्ष्मीमाथि फेरि कुटपिट हुन थालेपछि उनी फेरि छतमै जानु पर्ने वाध्यता भयो फेरि हाम फालेर खेतको बाटो हुँदै इलाका प्रहरी चौकी बौनियातिर भागे भने उनकी श्रीमती दुर्गा पनि भागेर छिमेकमा गई प्रहरीलाई गुहार मागेकी थिइन् । प्रहरी पुग्दा आक्रमणकारी भागिसकेका थिए ।

घटना भएको २० मिनेटमा प्रहरी पुग्दा उनीहरू चुहा चोकतिर भागिसकेका थिए । प्रहरीले घाइते चारैजनालाई बर्दगोरिया अस्पताल ल्याइ उपचार गरायो भने सख्त घाइते पत्रकार लक्ष्मी र आमा नन्दीलाई नेपालगंज रेफर गर्‍यो ।

श्रीमती दुर्गा र दिदी कृष्णाको बर्दगोरियाका उपचारपछि घर फर्के । लक्ष्मीका काका देवीरामका अनुसार शनिबार उनले दिएको दुई लाख भारु, फुपुबाट सापटी ६५ हजार र लक्ष्मीको पसलबाटको बिक्री रकम गरी करीब पाँच लाख रुपैयाँ र पाँच तोला जति सुनका गहना पनि लुटेर लगे ।

 ः अनुमाेदन 

 

विशेष