News

डोल्पामा २२ मतदान केन्द्र संवेदनशील, निर्वाचन सूचनाका लागि प्रहरी कै भर

डोल्पामा २२ मतदान केन्द्र संवेदनशील, निर्वाचन सूचनाका लागि प्रहरी कै भर

डोल्पा । डोल्पामा तोकिएका जम्मा ६६ मतदान केन्द्रमध्ये २२ वटा सुरक्षा चुनौतीको हिसाबमा संवेदनशील सूचीमा राखिएका छन् ।

निर्वाचन कार्यालय डोल्पाका अनुसार संवेदनशील सूचीमा राखिएको २२ वटै मतदान केन्द्र उपल्लो डोल्पाका हुन् । सुरक्षा तथा सञ्चार व्यवस्थापनको हिसाबमा माथिल्लो भेगमा पर्ने मतदान केन्द्र अन्य मतदान केन्द्रको तुलनामा थप संवेदनशील भएको कार्यालयको भनाइ छ ।

डोल्पामा आसन्न प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका लागि मतदान केन्द्र तोक्ने काम सम्पन्न भएको छ । डोल्पा भौगोलिक रुपमा विकट भएकाले भूगोललाई आधार मानेर प्रत्येक वडामा एउटा मतदान केन्द्र पारिएको छ ।

प्रदेश र प्रतिनिधि सभाको चुनावमा डोल्पाबाट १८ हजार ९८९ जनाले मतदान गर्ने जिल्ला निर्वाचन कायालयले जानकारी दिएको छ । महिला मतदाता नौ हजार ६३९ र पुरुष मतदाता नौ हजार ३५० रहेका छन् ।

प्रहरीको भरमा निर्वाचन सूचना

उपल्लो डोल्पा वर्षौंदेखि सञ्चारविहीन छ । यहाँका छार्काताङसोङ्, डोल्पो बुद्ध, से–फोक्सुन्डो लगायतका स्थानीय तहमा कुनै पनि प्रकारको सञ्चार सुविधा नहुँदा वर्षौंदेखि सञ्चारविहीन भएका हुन् ।

त्यसो त उपल्लो डोल्पामा भइरहेको विभिन्न गतिविधिको सूचना स्रोत प्रहरी नै रहँदै आएको छ । उपल्लो डोल्पामा हुने विभिन्न घटनाको संवाहक प्रहरी नै प्रमुख हो । अघिल्ला चुनावहरुमा जस्तै यस पटक पनि निर्वाचनसम्बन्धी सम्पूर्ण सूचना लिने माध्यम भनेकै प्रहरी रहेको जिल्ला निर्वाचन कार्यालय डोल्पाले जनाएको छ ।

‘उपल्लो डोल्पासम्म पुग्न सदरमुकामदेखि हप्तौँ लाग्छ, भौगोलिक रुपमा विकट भएकाले पनि हत्पत सूचना पाउन नसक्ने अवस्था छ,’ जिल्ला निर्वाचन अधिकृत विक्रम गिरीले भने, ‘प्रहरीको सेटबाहेक अरू कुनै सञ्चारका साधनले काम नगर्ने भएकाले निर्वाचनमा खटिएका कर्मचारीले सूचना प्रहरीलाई दिने र प्रहरीले जिल्लामा खबर गर्ने गर्दछ ।’

निर्वाचन सूचनाको जानकारी लिन निर्वाचन आयोगले यस पटक पनि कुनै पनि सञ्चार सुविधाको व्यवस्था नगरेकाले प्रहरीकै भर पर्नुपर्ने अवस्था रहेको कार्यालयको भनाइ छ ।

हिमपातले चुनावी गतिविधि प्रभावित

कात्तिक महिनाको शुरुवातसँगै डोल्पाका उच्च भेगमा हिमपात हुने गर्दछ । यस वर्ष पनि उपल्लो डोल्पामा कात्तिक पहिलो साताभित्रै भारी हिमपात भएपछि निर्वाचन गतिविधिसमेत प्रभावित भएको छ ।

अघिल्ला वर्षमा जस्तै यस पटक पनि कात्तिक लागेसँगै हिमपात शुरु भएपछि निर्वाचन गतिविधि प्रभावित भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । हिमपातपछि बढेको चिसोले गर्दा मतदाता शिक्षाका लागि हिँड्नै लागेका कर्मचारीसमेत रोकिएको कार्यालयले जनाएको छ । अब तीन–चार दिनभित्रै निर्वाचन शिक्षाका सामग्रीसहित कर्मचारी उपल्लो क्षेत्र पठाइने बताइएको छ ।

उपल्लो डोल्पामा दिन प्रतिदिन जाडो बढ्दै जान थालेपछि दलहरुले चुनावी गतिविधिलाई तीव्रता दिन सकेका छैनन् ।

nirbachan

विशेष