वाम गठबन्धनविरुद्ध माओवादी केन्द्रको बागी उम्मेदवारी
सल्यान । दोस्रो चरणको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता सम्पन्न भएको छ ।
वाम गठबन्धनसहित पाँच राजनीतिक दलले प्रदेश तथा प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नेपाली काँग्रेसबाट प्रतिनिधिसभाका लागि राजेन्द्रबहादुर शाहले उम्मेदवारी दर्ता गराउनुभएको छ । काग्रेसबाट प्रदेश १ (क) मा एकराज डाँगी र खमा डिल्लीराज रेग्मीले उम्मेदवारी दर्ता गराएका छन् ।
वाम गठबन्धनबाट प्रतिनिधिसभाका लागि नेकपा(माओवादी केन्द्र)का टेकबहादुर बस्नेत तथा प्रदेश १ (क) मा नेकपा (एमाले)का गुलाबजंग शाह र खबाट एमालेकै प्रकाश ज्वालाले उम्मेद्वारी दिएका छन् ।
यस्तै राप्रपा नेपालबाट प्रतिनिधिसभाका लागि गणेश भण्डारी तथा प्रदेश १ (क)मा बालाराम शर्मा र १ (ख)मा राजेन्द्रविक्रम रायले मनोनयन दर्ता गराएका छन् । नेकपा (माले)बाट प्रतिनिधिसभाका लागि बलबहादुर गिरी, प्रदेश १ (क) मा टोपबहादुर रोका र ख मा हिमलाल बुढाथोकीले मनोनयन दर्ता गराएका छन् ।
टिकट वितरणप्रति असन्तुष्ट माओवादी केन्द्रको एक समूहले वाम गठबन्धनविरुद्ध उम्मेदवारी दर्ता गराएको छ । माओवादी केन्द्रबाट प्रतिनिधिसभाका लागि पूर्वसांसद उमाकान्त शर्मा र ज्ञानबहादुर वलीले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै प्रदेश १(क) मा माओवादी केन्द्रका भीमप्रकाश शर्मा र (ख)मा जीतबहादुर पुनले उम्मेदवारी दर्ता गराएका छन् ।
nirbachan