विदेश

जिम्बावेका राष्ट्रपतिले दिए राजीनामा, खुशीयालीमा प्रदर्शन

जिम्बावेका राष्ट्रपतिले दिए राजीनामा, खुशीयालीमा प्रदर्शन

काठमाडौं। जिम्बावेमा ३७ वर्ष शासन गरेका राष्ट्रपति रोबर्ट मुगाबेले पदबाट राजीनामा दिएका छन् ।

पत्नी ग्रेस मुगावेलाई उत्तराधिकारी बनाउन खोज्दा विवाद भएपछि उनी सत्ता छाड्न बाध्य भएका हुन् । सत्तारुढ दलले महाअभियोग लगाउने तयारी गरिएपछि उनले राजीनामा दिनुभएको हो ।

महाभियोग दर्ता प्रक्रिया सुरु भएपछि मुगावेले संसद्का नाममा चिठी पठाएर राजीनामा दिएको सभामुखले जानकारी दिएका छन् । पत्रमा उनले ‘तत्काल लागू हुने गरी’ राजीनामा दिएको उल्लेख गरेका छन् ।

राजीनामाको कारण ‘जिम्बावे जनताको भलाइ’ र ‘शान्तिपूर्ण शक्ति हस्तान्तरण’ भनिएको छ । राष्ट्रपति मुगाबेको राजीनामाको खुशीयालीमा लाखौं नागरिक सडकमा उत्रिएका छन् ।

पदमा रहँदा जिम्बाबेलाई बेलायतबाट स्वतन्त्र बनाई त्यहाँका जनतालाई राहत दिलाएका राष्ट्रपति मुगाबे बिरुद्ध पछिल्लो समय विवादमा परेका थिए । उनले श्रीमतीलाई उत्तराधिकारी बनाउन खोजेपछि त्यहाँको सेना र नागरिक विरोधमा उत्रिएका थिए । सेनाले शक्ति हातमा लिँदै ९३ वर्षीय मुगाबेलाई घरमै नजरबन्दमा राखेको थियो ।

त्यसपछि सत्तारुढ दल जानु पीएफले राष्ट्रपति मुगाबेलाई दलको नेताबाट समेत बर्खास्त गरेको थियो । पार्टीले पूर्व उपराष्ट्रपति इमर्सन नान्गाग्वालाई पार्टीको नेतामा नियुक्त गर्नुका साथै मुगाबेकी पत्नी ग्रेसलाई समेत पार्टीबाट निकालेको थियो ।

विशेष