विदेश

बंगलादेशका रोहिंग्याहरु म्यानमारले फिर्ता लैजाने, नेपालले कुनै कूटनीतिक प्रयास नै गरेन

बंगलादेशका रोहिंग्याहरु म्यानमारले फिर्ता लैजाने, नेपालले कुनै कूटनीतिक प्रयास नै गरेन

एजेन्सी । बंगलादेश र म्यानमारबीच रोहिंग्या शरणार्थीलाई दुई महिनामा फिर्ता गर्ने सहमति भएको छ ।

विश्वभरबाट म्यानमारको रोहिंग्या शरणार्थीलाई फिर्ता गर्न माग गरिरहेका समय म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङसाङ सुकी र बंगलादेशका विदेशमन्त्री ए एच महमद अलिबीच म्यानमारको न्यापितमा भएको बैठकले रोहिंग्या शरणार्थीलाई फर्काउने सहमति भएको हो । दुई महिनाभित्र पहल सुरु गर्ने सहमति भएको बैठकपछि जारी गरिएको संक्षिप्त विज्ञप्तिमा जनाइएको छ ।

म्यानमारमा पछिल्ला केही महिनायता भएका हिंसात्मक गतिविधिपछि सेनाले चलाएको सैनिक अभियानमा म्यानमारको रोहिंग्या समुदायको बसोबास रहेको राखिने राज्यबाट करिब ६ लाख २० हजार जनता भागेर बंगलालादेश पुगेका थिए । म्यानमारको सुरक्षाकर्मीले चलाएको पछिल्लो अभियानलाई अमेरिकाले अल्पसंख्यक रोहिंग्या समुदायलाई राखिनबाट हटाउने प्रयास भनी आलोचना गरेको छ ।

सहमति अनुसार आगामी तीन हप्ताभित्र कार्यदल बनाई काम सुरु गरिनेछ । सहमतिपछि छोटो प्रतिक्रिया दिँदै विदेशमन्त्री अलीले शरणार्थीलाई फर्काउन गरिएको यो सुरुवाती कदम भएको र म्यानमारले रोहिंग्यालाई फिर्ता लानेमा आफू विश्वस्त रहेको बताए ।

कति रोहिंग्यालाई स्वदेश फर्काइँदैछ र यो प्रक्रिया कहिलेसम्म सम्पन्न हुनेछ भन्ने विषयमा भने दुवै पक्षले प्रस्ट पारेका छैनन्।

म्यानमार र बंगलादेशबीच यस्तो सहमति भइरहँदा नेपालमा रहेका रोहिंग्याहरुबारे नेपाल सरकारले कुनै कुटनीतिक प्रयास नै गरेको छैन् । भुटानी शरणार्थी फिर्ता पठाउन असफल भएको नेपालको सरकार रोहिंग्याहरुलाई पनि नेपालमै स्थायी रुपमा राख्ने प्रयासमा जुटेको त होइन भनेर प्रश्न पनि उठ्न थालेको छ ।

विशेष