बैतडीमा एउटा मात्रै अपाङ्गमैत्री मतदान स्थल
बैतडी । यहाँ रहेका १२० मतदान स्थलमध्ये एउटा मात्र अपाङ्गमैत्री मतदान स्थल रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
जिल्ला निर्वाचन अधिकारी माधव फुयाँलका अनुसार बैतडीको दशरथचन्द नगरपालिका–१ गुरुखोलामा रहेको शोभा माध्यमिक विद्यालय, देउमाडामा अपाङ्गमैत्री मतदान स्थल रहेको छ ।
अशक्त तथा अपाङ्गता भएका व्यक्तिलाई मतदान गर्न सहज बनाउन उक्त मतदान स्थललाई यसअघि भएको स्थानीय तह तथा संविधानसभा निर्वाचनदेखि नै अपाङ्गमैत्री मतदान केन्द्र निर्धारण गरिएको हो ।
उक्त मतदान स्थलमा साविकको गुरुखोला गाविसका १, २ र ३ नं वडाका मतदाताले मतदान गर्नेछन् । तथ्यांकमा प्रष्ट नहुने भएकाले उक्त मतदान केन्द्रमा अपाङ्गता भएका व्यक्ति कति सहभागी हुने यकिन नभएको बताइएको छ ।
अपाङ्गमैत्री मतदान स्थलमा अपाङ्गता भएका व्यक्तिलाई मतदान गर्ने स्थानसम्म नै ह्विलचियर लैजान सकिने, दृष्टिविहीन, शारीरिक अपाङ्गता, बौद्धिक अपाङ्गता, बहिरा, होचा मान्छेलगायतलाई सहयोग पुर्याउन स्वयंसेवक र सुरक्षाकर्मी संलग्न रहेको टोलीसमेत व्यवस्था गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।
अपाङ्गता भएका व्यक्तिलाई मतदान गर्न लाइन बस्नु नपर्ने व्यवस्थासहित उनीहरुका लागि छोटो समयमा स्वयंसेवकको साथमा मत खसाल्ने व्यवस्थासमेत मिलाइएको निर्वाचन कार्यालय प्रमुख फुयाँलले जानकारी दिए ।
आइतबार पहिलो चरणअन्तर्गत हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लामा १२० मतदान स्थलमा १८२ मतदान केन्द्र तोकिएका छन् भने एक लाख ३२ हजार ३१९ जना मतदाता रहेका छन् ।