विदेश

इन्डोनेसियामा माउन्ट आगुंग पहाडमा ज्वालामुखी फुट्ने खतरा, खरानी र धुँवाको मुस्लो फेलियो

इन्डोनेसियामा माउन्ट आगुंग पहाडमा ज्वालामुखी फुट्ने खतरा, खरानी र धुँवाको मुस्लो फेलियो

काठमाडौं । इण्डोनेसियाको बाली द्वीपको माउन्ट आगुंगमा ज्वालामुखी फुट्ने संकेत देखिएपछि खतराको सूचना जारी गरिएको छ ।

माउन्ट आगुंगमा हावामा चार हजार मिटर माथिसम्म खरानी र धुँवाको मुस्लो फैलिएको छ । विमान कम्पनीहरुलाई सजग रहन भनिएको छ ।

एक साताभित्र यो दोस्रो पटक त्यस द्वीपमा खरानी र धुँवा फैलिएर हवाइ उडान प्रभावित भएको हो । खरानीको धुलो वायुमण्डलमा फैलिएपछि स्थानीय प्रशासनले बस्तीहरुमा मास्क नै वितरण गरेको छ ।

इण्डोनेसियाको बाली एक प्रमुख पर्यटकीय स्थल हो । यद्यपि, ज्वालामुखीभन्दा यो क्षेत्र करीब ७० किलोमिटर टाढा पर्ने जनाइएको छ । ज्वालामुखीको खरानीले विमानको इन्जिन बिगार्ने भएकाले केही विमान कम्पनीले उडान नै रद्द गरेका छन् ।

खरानीको मुस्लो बालीबाट लोम्बोक द्वीपतर्फ बढेकाले मूख्य अन्तर्राष्ट्रिय हवाइ अड्डा बन्द गर्नुपरेको छ । ज्वालामुखी फुट्न लागेको स्थानभन्दा साढे सात किलोमिटर वरपरको क्षेत्र खाली गराउन आपत निवारण संस्थाले निर्देशन दिइसकेको छ ।

यसै वर्ष एक लाख ४० हजार व्यक्तिले उक्त क्षेत्र छाडेको तथा करीब २५ हजार व्यक्ति अस्थायी घरमा बसेको जनाइएको छ । ज्वालामुखीकै कारण पर्यटन र कृषि उत्पादनमा बाली द्वीपलाई ११० मिलियन डलर घाटा लागिसकेको स्थानीय प्रशासनकले जनाएको छ ।

ज्वालामुखीको घर मानिने इण्डोनेसियामा १३० ज्वालामुखी सक्रिय छन् । अन्तिमपटक माउन्ट आगुंग सन् १९६३ मा फुटेको थियो जसको कारण एक हजार जनाको मृत्यु भएको थियो ।

विशेष