News

हात्तीको आक्रमणबाट दुईजनाको मृत्यु

हात्तीको आक्रमणबाट दुईजनाको मृत्यु

इनरुवा । सुनसरीको कोसी गाउँपालिका–३ मा सोमबार जंगलीहात्तीको आक्रमणबाट दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीयवासी ५० वर्षीया बेचनीदेवी सरदार र ३६ वर्षीया सेजियादेवी सरदार रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

कोसीटप्पु आरक्षबाट दाउरा लिएर आउँदै गरेका सरदारद्वयलाई आरक्षको छेउमा रहेको उखुखेतबाट निस्केको हात्तीले आक्रमण गर्दा मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिए ।

हात्तीको आक्रमणबाट स्थानीयवासी ५० वर्षीया विन्दादेवी सरदार गम्भीर घाइते भएकी छन् । उनको दाहिने खुट्टा, छाती र मुखमा चोट लागेको प्रहरीले जनाएको छ ।

शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवा ल्याइएको तथा गम्भीर घाइतेको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको छ ।

विशेष