तीन हप्तासम्म उसले मलाई बलात्कार ग¥यो ........
जब म तेह्र वर्षकी थिएँ मेरो बुबाले मलाई एउटा अपरिचित घरमा लिएर जानुभयो । त्यहाँ एउटा कोठामा तीन जना मानिसहरू कुरिरहेका थिए । तिनीहरूले मलाई एकोहोरो हेरिरहे । मेरो बुबाले भन्नुभयो, तिनीहरू मध्ये एक जनासँग त्यही साँझ मेरो बिहे हुने वाला छ । यो बिहे गराए बापत उहाँले ३ सय ८५ डलर पाउनुभएको थियो ।
मेरो अध्ययनलाई निरन्तरता दिन पाउँ भनेर रुँदै मैले अनुरोध गरें तर कसैले सुनेनन् । मेरी आमाले मलाई बेहुलीको कपडा लगाइदिइन् । अकस्मात मेरो बिहे भयो । जब हामीहरू एक्लै भयौं, मैले उसको अनुहार देखें । उ म भन्दा धेरै नै बढी उमेरको मान्छे थियो । मेरो श्रीमान् ५५ वर्षका थिए । त्यस रात उसले ममाथि जबरजस्ती ग¥यो । म चिच्याएँ ।
तीन हप्तासम्म उसले मलाई बलात्कार ग¥यो । उ मलाई उसका अरु श्रीमतीहरू र छोराछोरीहरूको हेरचाहका लागि जोर्डन लैजान चाहन्थ्यो । मैले जान मानिनँ । मेरो बुबाले पछि म उसँगै जानेछु भनेर उसलाई आश्वस्त गराउनुभयो । तर यो कहिल्यै पनि भएन । म अझै विवाहित हुँ । तर मलाई थाहा छैन मेरो श्रीमान् अहिले कहाँ छन् भनेर ।
बूढो मानिससँग बिहे गरेको भनेर मेरो समुदायमा खिल्ली उडाइयो । मैले मेरा बुबा र आमाबाट धोका भएको महसुस गरें । म रिसाएको थिएँ तर मैले अरुको सहयोग खोजें । अन्त्यमा मैले महसुस गरें यो घटनामा मेरो कुनै दोष थिएन ।
सानो छँदा मेरो सपना नर्स बन्ने थियो । तर मैले मेरो भविष्य चोरिएको जस्तो महसुस गरें । यस विषयमा मैले केही गर्ने निर्णय गरें । मैले शिक्षक बन्नका लागि तालिम लिन सुरु गरें ।
मेरो अविभावकले अहिले मसँग माफी मागी सकेका छन् । उहाँहरूले आफ्नो गल्ती मसँग स्वीकार गरिसक्नु भएको छ । उहाँहरू गरीब र अशिक्षित हुनुहुन्छ र धेरै कुरा उहाँहरूलाई थाहा छैन ।
अहिले मेरो पढाउने सपना पूरा भएको छ । म विद्यालय छाडेका र प्रौढ महिलालाई विद्यालयमा अंग्रेजी र उर्दु पढाउँछु । म अरु किशोरीहरूले मेरो जस्तो नियति भोग्न नपरोस् भनेर उनीहरूको भविष्य सुनिश्चित गराउनको लागि काम गरिरहेको छु । समुदायमा मेरो कामको विरोधपनि भइरहेको छ । तर मैले केही गलत गरिरहेकी छैन र मलाई आत्मनिर्भर हुन मन लाग्छ । म जागरुक छु ।
केही गरीब भारतीय परिवारहरूले पैसाको प्रलोभनमा परी आफ्ना किशोरी छोरीहरू अरेबियन देशका बूढापाका मानिसहरूसँग बिहे गरिदिने गरेका छन् । तर धेरैजसो घटनामा ती मानिसहरूले नयाँ श्रीमतीहरूलाई भारतमै छाडेर आफ्नो देश फर्कने गरेका छन् ।
साभारः– बिबिसी