विदेश

कश्मिरमा कडा सुरक्षाबीच दोहोरो गोली हानाहान

कश्मिरमा कडा सुरक्षाबीच दोहोरो गोली हानाहान

भारत प्रशासित कश्मिर । भारत नियन्त्रित कश्मिरमा बिहीबार कडा सुरक्षाका बीच पनि दोहोरो गोली हानाहान भएको समाचारमा जनाइएको छ । 

लासकार ए तोइबा नामक एक आतङ्ककारी समूहका तीनजना सशस्त्र हतियारधारी मारिएपछि यहाँको सुरक्षा व्यवस्था गएको हप्तादिन भन्दा लामो समयदेखि कडा बनाइएको थियो । 

तर बिहीबार बिहानै देखि बडगाम जिल्लाको फाल्तिपुरामा यहाँका सशस्त्र लडाकू र सीमा सुरक्षा बलबीच दोहोरो गोली हानाहान सुरु भएको बताइएको छ । सधैँजसो अशान्त नै भइरहने भारत नियन्त्रित कश्मिरमा आतङ्ककारीले थप हिंसा मच्चाउन सक्ने अनुमानमा हप्तादिन अघिदेखि प्रहरी र अर्धसैन्य बलको ठूलो संख्या यहाँ खटाइएको थियो । 

गत हप्तामात्र पनि सोही क्षेत्रमा नै सुरक्षाकर्मीको गोली लागेर उनीहरु मारिएका थिए । अर्ध सैन्यबल र ती आतङ्ककारीबीच भएको दोहारो गोली हानाहानमा ती आतङ्ककारी मारिएका सुरक्षा अधिकारले जानकारी दिएका छन् । 

भारतीय प्रहरी कश्मिरका प्रवक्ताले जानकारी दिएअनुसार उक्त क्षेत्रमा निकै लामो समयदेखि उक्त आतङ्ककारी समूहमा आवद्ध लडाकूहरुको क्रियाकलाप बढिरहेको थियो । 

भारतीय सहर मुम्बाइमा सन् २००८ मा भएको आक्रमणमा पनि यही लासकार ए तोइबा नामक आतङ्ककारी सङ्गठनको हात रहेको भारतले जनाउँदै आएको छ । 

यस आक्रमणमा परी १६६ व्यक्तिको मृत्यु भएको थियो भने अरु सयभन्दा बढी घाइते भएका थिए । त्यसयता भारत सरकारले उक्त समूहलाई आतङ्ककारी समूहका रुपमा व्यवहार गर्दै आएको छ । 

बिहीबारको सो गोली हानाहानबाट भएको क्षतिको बारेमा भने केही समाचार आएको छैन । 

विशेष