विदेश

उत्तर कोरियाको मिसाइल यस्तो शक्तिशाली ! जापान र अमेरिकालाई तनाव

उत्तर कोरियाको मिसाइल यस्तो शक्तिशाली ! जापान र अमेरिकालाई तनाव

काठमाडौं। उत्तर कोरियाले परीक्षण गरिएको पछिल्लो अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल वायुमण्डलभन्दा माथि गएर फेरि वायुमण्डलमै प्रवेश गर्न सक्ने खालको रहेको दाबी गरेको छ ।

उत्तर कोरियाले दाबी गरे पनि प्योङयाङबाट परीक्षण गरिएको ब्यालेस्टिक मिसाइलमा यस्तो क्षमता रहे नरहेको बारे विशेषज्ञले पुष्टि भने गरेका छैनन् । उत्तर कोरिया अहिले नै त्यस्तो खालको प्रविधि विकास गर्न सफल भएकोमा विशेषज्ञले शंका व्यक्त गरेका हुन् ।

उत्तर कोरियाले भने पछिल्लो मिसाइल आफूहरुले अहिलेसम्म परीक्षण गरेका मध्ये सबैभन्दा शक्तिशाली रहेको र यसले आफ्नो देशको परमाणु अभियानले तोकिएको लक्ष्य पाएको दाबी गरेको छ ।

उत्तर कोरियाका नेता किम जोन–उनले बुधबार गरिएको मिसाइल परीक्षण निष्पक्ष रहेको र यो आफ्नो देशका लागि ब्रेकथ्रु पनि भएको बताएका छन् । उत्तर कोरियाले द हवासङ–१५ नाम गरेको अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइलको बुधबार सफल परीक्षण गरेको हो । यो मिसाइल झन्डै एक हजार किलोमिटर दूरी पार गरेर जापानी समुद्रमा खसेको थियो ।

नयाँ मिसाइल अमेरिकाको पूरै क्षेत्रमा मार हान्न सक्ने क्षमताको रहेको दाबी उत्तर कोरियाले गरेको छ । विशेषज्ञले पनि अब वासिङटन पनि उत्तर कोरियाको मिसाइल रेन्जमा आएको हुन सक्ने बताएका छन् । मिसाइल परीक्षणको अन्तर्राष्ट्रिय समुदायबाट आलोचना भएको छ ।

उत्तर कोरियाको गतिविधिका कारण दक्षिण कोरिया, जापान, अमेरिकासहितका देशमा तनाव बढेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस विषयमा चीनका राष्ट्रपति सी जिनपिङसँग टेलिफोन वार्ता पनि गरेका छन् ।

ट्रम्पले चीनसँग उत्तर कोरियालाई मनाउन सबै किसिमको प्रयास गर्न आग्रह गरेका छन् । चीन उत्तर कोरियाको ठूलो सहयोगीको रुपमा रहँदै आएको छ । यस्तै अमेरिकाले उत्तर कोरिया विरोध पक्षलाई सहयोग गर्न विश्व समुदायसँग आग्रह पनि गरेको छ ।

विशेष