यी सुन तस्कर, जसमाथि प्रहरीले ४३ करोड बिगो मागदाबी ग-यो
काठमाडौं । ८८ किलो सुनकाण्डमा संलग्न भएको आरोप लागेका १० जनाविरुद्ध प्रहरीले काठमाडौं जिल्ला अदालतमा मुद्धा दायर गरेको छ । प्रहरीले ४ चिनियाँसहित १० जनाविरुद्ध साढे ४३ करोड रुपैयाँभन्दा बढी बिगो मागदाबी गर्दै आज मुद्दा दायर गरेको हो ।
अपराध महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीका अनुसार, उनीहरुमाथि संगठित अपराध ऐनअनुसार ४३ करोड ५६ हजार रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर गरिएको हो । प्रहरीले बरामद भएको ८८ किलो सुनको मूल्यलाई बिगो बनाइ मुद्धा दायर गरेको हो । मुद्धा दायर गरिएकामा गणेशदत्त बडु, सत्यनारायण अग्रवाल, शुभरत्न शाक्य, नन्दकुमार पाण्डुरत्न मर्गले, मानबहादुर तामाङ, उल्लाहास दिनकर सालुखे र ल्याक्पा ग्याल्जोङ तथा ३ चिनियाँ छन् ।
गत भदौ १९ गते केरुङ नाका हुँदै अवैध रुपमा काठमाडौं ल्याइएको ८८ किलो सुन प्रहरीको अपराध महाशाखाको टोलीले क्षेत्रपाटीबाट नियन्त्रणमा लिएको थियो । सुनसहित पक्राउ परेका गाडी चालकको बयानका आधारमा प्रहरीले व्यवसायी लगायत तस्करीमा संलग्नलाई पक्राउ गरेको थियो । सो सुन तस्करीमा संलग्न रहेका भनिएका अन्य ४ जना भने फरार रहेको प्रहरीले जनाएका छन् ।