News

जडीबुटीबाट रु तीस लाख राजश्व संकलन

जडीबुटीबाट रु तीस लाख राजश्व संकलन

जुम्ला । जिल्ला वन कार्यालय जुम्लाले जडीबुटीबाट रु ३० लाख राजश्व संकलन गरेको छ ।

चालु आर्थिक वर्षको कात्तिक १५ गतेसम्ममा सो कार्यालयलले जडीबुटीबाट रु ३० लाख एक हजार ४५० राजश्व संकलन गरेको हो । बिशेषगरी यार्सागुम्बा, गुच्ची च्याउ, वन लसुनलगायत १६ प्रकारका जडीबुटीबाट सो रकमको राजश्व संकलन गरिएको जिल्ला वन अधिकृत मोहनप्रसाद श्रेष्ठले जानकारी दिए ।

उनले भने, “ जुम्लाबाट उक्त अबधिमा ७६ केजी ६०० ग्राम यार्सागुम्बा , ६७६ केजी गुच्ची च्याउ, सतुवा ४५०, वन लसुन दुई हजार १६०, सेतक चिनी ३० हजार ७५०, साधारण च्याउ तीन हजार ९००, धूपी पात ४० हजार केजी संकलन गरिएको छ ।” जसमा यार्सागुम्बा, सतुवा र वन लसुन संकलन भए पनि निर्यात भइसकेको उनले बताए ।

त्यसैगरी, सुगन्धवाल ९००, पदमचाल २९ हजार ५००, काला दाना ३००, चिराइतो १००, पाषणवेद ११ हजार, विषजरा ९००, सुनपाती चार हजार ५००, अमलवेद छ हजार र अतिस १५० केजी गरेर कूल एक लाख ३१ हजार ३६२ केजी जडीबुटी संकलन भएकोमा एक हजार २०२ केजी ६०० ग्राम निर्यात भइसकेको वन अधिकृत श्रेष्ठको भनाइ छ ।

संकलित जडीबुटीमा प्रतिकेजी रु २५ हजार राजश्व दर भएको ७६ केजी ६०० ग्राम यार्सागुम्बाबाट मात्रै रु १९ लाख १३ हजार र प्रतिकेजी रु ३०० राजश्व दर भएको गुच्ची च्याउबाट रु दुई लाख दुई हजार ८०० र बाँकी रु आठ लाख ९५ हजार ६५० अन्य जडीबुटीबाट राजश्व संकलन भएको कार्यालयले जनाएको छ ।

गत आव ०७३÷७४ मा वन कार्यालय जुम्लाले रु ५८ लाख ८८ हजार २०१ राजश्व संकलन गरेको थियो । यो वर्षबाट व्यापारीलाई भने जटामसीको इजाजत दिन प्रतिवन्ध लगाइएको कार्यालयको भनाइ छ ।

jadibuti

विशेष