जब चिकित्सकले गर्भको बच्चीको दिमाग नै छैन भने.....एक मर्मस्पर्षी घटना
एक लाख बच्चामा एक जनाको मात्र हुन्छ यस्तो
एजेन्सी । उनीहरुले २० साताको गर्भ जब अल्ट्रासाउण्ड गरे तब थाहा भयो की आमाको पेटमा हुर्किरहेको बच्चाको दिमागको विकास नै भएको रहेनछ । अर्थात् बच्चाको मस्तिष्क सम्पूर्णरुपमा खाली थियो । र, यो पछि गएर बन्नेवाला पनि थिएन । चिकित्सकले बच्चालाई नजन्माउन सल्लाह दिए । तर आमा केरीले जस्तो भएपनि आफ्नो बच्चा जन्माउन चाहिन् । उनको पेटमा छोरी खेलिरहेको आभासले केरीलाई गर्भपतन गर्न आँट आएन । उनीहरुले नजन्मिँदै छोरीको नाम पनि राखे इभा ।
बच्ची जन्मिएलगत्तै उनका हरेक अंगहरु अर्को बच्चीलाई दान गरेर आफ्नो छोरीलाई जीवित राख्ने संकल्प गरियो । यसमा उनका लेखक पति रोयस योंगले भरपुर साथ दिए । किनकी दिमाग नभए पनि बच्चीको मुटु धड्किरहेको थियो । फोक्सोले श्वास फेरिरहेको थियो अनि मृगौलालगायत शरीरका हरेक अंगहरु स्वस्थ थिए ।
सामाजिक सञ्जालमा भावविह्वल हुँदै ती बच्चीकी आमा केरीले लेखेकी छिन्, ‘मेरी जन्मिन लागेकी छोरी इभासँग दिमाग नभएपनि स्वस्थ हात, खुट्टा छन् । स्वस्थ किड्नी, मुटु, कलेजो र फोक्सो छ । भगवानले केवल स्वस्थ दिमाग दिन बिर्सियो । तर उनका यी सबै स्वस्थ अंगहरु पाएर अरु धेरै बच्चाहरु स्वस्थ हुनेछन्, जो बच्चाहरु यी अंगहरु नपाएर अस्वस्थ छन् ।’
‘इभालाई एनेनसेफ्याली भन्ने रोगले गर्दा गर्भमा दिमागको विकास भएन र जन्मिएको केही दिनमै यस्ता बच्चाहरुको मृत्यु हुन्छ । यस्तो समस्या एकलाख बच्चामा एक जनामा मात्र मुस्किलले आउँछ,’ अस्पतालले आफ्नो वेवसाइटमा लेखेको छ ।
यस्तो अवस्थामा अस्पतालले केरीलाई दुईवटा विकल्प दियो जसमा पहिलो थियो, २० साताको गर्भलाई गर्भपात गराउने र दोश्रो थियो, जन्म दिने । केरी दम्पतीले दोश्रो विकल्प रोजे । जन्मेपछि ती सबै स्वस्थ अंगहरु आवश्यक परेका बच्चाहरुलाई दान गर्ने भनेर आफ्नो निर्णयमा अडिग रहे ।
केही सातापछि इभाको जन्म भयो । ती दम्पतीले आफ्नी प्यारी गुडियालाई एकैपटक स्वागत र विदाई गरे । जन्मिएपछि उनका महत्वपूर्ण अंगहरु निकालियो र केही छिनमै उनको मृत्यु भयो । पति रोयसले आफ्नी साहसी श्रीमतीलाई धन्यवाद दिएका छन् । फेसबुकमा रोयसले केरी एक साधारण महिलामात्र नभएर उनी एक ‘सुपरहिरो’ भएको स्टाटस लेखेका छन् ।