नयाँ दिल्लीको तुवाँलो हटेन
नयाँ दिल्ली । वायुमण्डलमा बाक्दो तुवाँलोका कारण जनजीवन प्रभावित भएको नयाँ दिल्लीमा बिहीबार पनि समस्या यथावत रहेको छ ।
भारतीय सहर नयाँ दिल्लीमा वायु प्रदूषणको समस्या घटेको छैन । उक्त प्रदुषणको स्तर विश्व स्वास्थ्य संगठनले तोकेको सुरक्षित मापदण्डभन्दा ७० गुणासम्म बढी रहेको पाइएको छ । उक्त मापदण्डमा सुधारका लागि विशेष पहल गर्न सबैले सरकारलाई आग्रह गरेका छन् । भारत सरकारले नयाँ दिल्लीका सबै प्राथमिक विद्यालयहरु बुधबारदेखि बन्द गरेको थियो ।
नयाँ दिल्लीका उप मुख्यमन्त्री मनिष सिशोडियाले बालबालिकाको स्वास्थ्यमा चाँडै असर गर्ने भएकोले विद्यालयहरु बन्द गर्नुपरेको बताएको समाचारमा जनाइएको छ । उनले कहिलेसम्म विद्यालय बन्द गरिरहने भन्ने बारेमा सरकारले वातावरण विज्ञहरुसँग सल्लाह गरिरहेको जानकारी पनि दिए । उनले दिल्ली सहरमा प्रत्येक घण्टामा प्रदूषणको स्थितिको बारेमा मापन र निरीक्षण गर्ने व्यवस्था मिलाइएको जानकारी दिए ।
नयाँ दिल्लीस्थित अधिकारीहरुकाअनुसार दिल्लीमा अवस्थित विद्यालयहरुलाई बाहिर खुला ठाउँमा कुनै पनि गतिविधिहरु सञ्चालन नगर्न आग्रह गरिएको बताएका छन् ।
भारतीय मेडिकल संघ आईएमएले जनस्वास्थ्यमा आपतकालको अवस्था रहेको बताएको छ । उक्त संघले प्रदूषणले उत्पन्न गरेको वर्तमान जोखिम कमगर्न आवश्यक प्रयासका लागि आह्वान गरेको छ । दिल्ली सरकारले बुधबार मात्र नयाँ दिल्लीमा जनस्वास्थ्य सङ्कटकालको घोषणा गरेको जानकारी दिएको थियो । त्यसैकारण पनि सार्वजनिक स्थलमा हुने खुला कार्यक्रमहरु कम भएका छन् ।
दिल्लीमा बढ्दो तुवाँलोको अवस्था यस्तै रहेमा आगामी १९ नोभेम्बरमा आयोजना हुन लागेको म्याराथन प्रतियोगिता पनि स्थगित हुनसक्ने बताइएको छ । आईएमएले भने सो स्थगित गर्न सुझाएको छ ।
नयाँ दिल्ली विश्वकै सबभन्दा प्रदूषित सहरमध्येमा पर्छ । दिल्लीलाई लगातार तेस्रो दिन बिहीबार पनि बाक्लो तुवाँलोले ढाकेको छ । वातावरण र स्वास्थ्यका अधिकारीहरु यसको समाधानका उपायहरु खोजिरहेका छन् ।
तर तुवाँलो समस्या समाधानका लागि भएका प्रयासहरु प्रभावकारी हुन सकेका छैनन् । अधिकारीहरुले धैर्यगर्न सर्वसाधारणलाई अपिल गरिरहेका छन् । राजधानी नयाँ दिल्लीमा प्राय जाडो महिना सुरु भएपछि यसैगरी बाक्लो तुवाँलो आउने गर्दछ । केही बर्षयतादेखि नयाँ दिल्लीको वायु प्रदुषणको मात्रा बढ्दै जान थालेकोले यस्तो समस्या देखिएको बताइएको छ ।
नयाँ दिल्लीको औद्योगिकरण, फोहोर र सवारी साधनको चापलाई वायु प्रदुषणको प्रमुख कारणका रुपमा लिने गरिएको छ । स्वास्थ्यका अधिकारीहरुले अरु एक दुई दिनमात्र पनि यसैगरी तुवाँलो नहट्ने हो भने यसले नागरिकको स्वास्थ्यमा समस्या देखिन सक्ने अवस्था रहेको बताएका छन् ।