प्रदेशसभामा एमालेका स्थापित र संग्रौला विजयी
काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नं ६ को दुबै प्रदेशसभा सदस्यमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । सो क्षेत्रको प्रदेश ‘क’ बाट क्रमशः केशव स्थापित र प्रदेश ‘ख’ बाट योगेन्द्रराज संग्रौला विजयी भएका छन् ।
उनीहरु दुबै नेकपा (एमाले) का उम्मेदवार छन् । स्थापितले आठ हजार २२ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार न्हुच्छेबहादुर डंगोलले पाँच हजार १४९ मत प्राप्त गरेका छन् ।
संग्रौलाले १२ हजार ८१२ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका विष्णुभक्त तिमल्सिनाले सात हजार ९१४ मत प्राप्त गरेको निर्वाचन कार्यालयका सहायक अधिकृत मेघनाथ उप्रतीले जानकारी दिए ।
यसअघि सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा काँग्रेसका भीमसेनदास प्रधान निर्वाचित भइसकेका छन् ।
bam gathabandan kathmandu