News

विद्यासुन्दरको यो कस्तो नाटक !

विद्यासुन्दरको यो कस्तो नाटक !

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य क्लिन द सिटी अन्तर्गत काठमाडौंका सडक सफाइ अभियानमा जुटेका छन् । काम नै गरेन भन्नेहरुलाई चुनौती दिँदै उनले रत्नपार्क क्षेत्रलाई धूलो मुक्त नै बनाउन आफै खटिए ।

तर, सो क्षेत्र प्रमुख विद्यासुन्दर शाक्यको चाहना अनुसार, धुलोमुक्त हुन सकेको छैन । नगर प्रमुख शाक्यले लक्षित गरेको क्षेत्रलाई धूलो मुक्त गराउन सकिने भएपनि कर्मचारीहरुको असहयोगका कारण रत्नपार्क क्षेत्रलाई धूलो मुक्त क्षेत्र बनाउन नसकिएको थाहा भएको छ ।

नगर प्रमुख शाक्यले आफ्नो योजना मुताविक सन्धारा, बीर अस्पताल, रत्नपार्क, भद्रकाली हुँदै सिंहदरबार गेट र सन्धारासम्मलाई धूलो मुक्त बनाउनका लागि ब्रुमर समेत प्रयोग गरिरहेका छन् । रातभरी पानीको फोहोराले पनि सफा गरे । तर, जति गरे पनि किन धूलो मुक्त हुन सकेन ?

कारण के हो त ?

स्थानीय तहको निर्वाचन सम्पन्न भएर पदबहाली गर्न नपाउँदै नगरप्रमुखले काम नै गरेन भन्ने चर्चा चल्न थालेपछि प्रमुख शाक्यले शहरलाई धूलो मुक्त बनाउने र क्लिन द सिटी बनाउने अभियानमा जुटे । सञ्चार माध्यमले पनि राम्रै सहयोग गरे ।

तर शहर धूलो मुक्त हुन सकेन । रातभरी पानीको फोहोराले धूलो सफा गर्ने विहान सवेरै ब्रुमरले धूलो उठाउने काम गरे । मेयरको धूलो मुक्त शहर अभियानमा कर्मचारीहरुलाई कमाउने मेलो भयो । जति सडकमा फोहोर र धूलो बनाउन सक्यो त्यत्ति नै भत्ता र स्रोत साधन परिचालनका नाममा कमिशन कुम्ल्याउन सक्ने भएपछि कर्मचारी मनमनै खुशीका साथ काम गरे जस्तो देखिए । तर, महिनौ दिन वितिसक्दा पनि रत्नपार्क क्षेत्र धूलो मुक्त हुन सकेन । यसको मुख्य कारण विद्या सुन्दर शाक्यलाई पनि थाहा छैन ।

रत्नपार्कमा बन्दै गरेको काठमाडौं टावरले दैनिक त्यहाँबाट निस्कने फोहोर रत्नपार्क हुँदै लैजाने गर्दछ । विहान नगरप्रमुख धूलो सफा गर्न निर्देशन दिने, बेलुका काठमाडौं टावरको साहु धूलो खसाल्दै जाने । रत्नपार्क क्षेत्रलाई धूलो मुक्त क्षेत्र घोषणा गरिसकेपछि सो क्षेत्रबाट काठमाडौं टावर निर्माणस्थलबाट निस्केको फोहोर त्यहाँबाट नलैजान प्रमुखले निर्देशन दिएपनि कर्मचारीहरु आर्थिक चलखेलका कारण साहुलाई कार्बाही गर्न त परै जाओस् त्यो बाटो प्रयोग नगर्न समेत भन्ने आँट गरेनन् । जसले गर्दा काठमाडौं रत्नपार्क धूलो मुक्त हुन सकेको छैन ।

–साँघु साप्ताहिकबाट

Bidya Sundar Sakya kathmandu

विशेष