News

‘वाम गठबन्धनलाई जनअनुमोदन’

‘वाम गठबन्धनलाई जनअनुमोदन’

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वाम गठबन्धनलाई नेपाली जनताले ऐतिहासिक रुपमा अनुमोदन गरेको भनी मतदाताप्रति आभार प्रकट गरेका छन् । 

नेता दाहालले आज सन्देशमार्फत संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान घोषणा भएपछिको प्रदेश र प्रतिनिधिसभाको पहिलो ऐतिहासिक निर्वाचनमा सिंगो देशको उल्लासपूर्ण सहभागिता र वाम गठबन्धनको विजयले समृद्धिको युग शुरु भएको बताएका हुन् । 

उनले सन्देशमा भनेका छन् “वाम गठबन्धनको विजयसँगै देशमा राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको नयाँ युग शुरु भएको छ । यस ऐतिहासिक परिणामका लागि अथक रुपमा क्रियाशील नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का देशैभरिका नेता–कार्यकर्ता बधाई र धन्यवादका पात्र हुनुुहुन्छ ।” 

उनले अहिलेको विजयलाई गठबन्धनले परीक्षा र जिम्मेवारीका रुपमा लिने र संयमपूर्वक राष्ट्रिय समृद्धिका लागि थप क्रियाशील हुने जनाउँदै सोहीअनुसार अगाडि बढ्न वामपन्थी नेता, कार्यकर्ता र जनतालाई आग्रह गरेका छन् । 

उनले निर्वाचन सम्पन्न गरेकामा प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि धन्यवाद दिएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले भने, “अब सरकारबाट संविधानको मर्मअनुसार सहज रुपमा नयाँ सरकार निर्माणमा सहयोगको समेत अपेक्षा गर्दछु ।” 

नवनिर्वाचित सांसद दाहालले आफू र आफ्नो पार्टीमाथि विश्वास गर्ने चितवन क्षेत्र नं ३ का सबै मतदाताप्रति आभार व्यक्त गर्दै आगामी दिनमा विनाभेदभाव चितवनको साझा अभिभावक बन्ने र चितवनलाई आर्थिक समृद्धिको केन्द्र बनाएर समस्त राष्ट्रकै आर्थिक समृद्धिका लागि क्रियाशील रहने प्रतिबद्धता दोहोर्याएका छन् । 

अध्यक्ष दाहाल काँग्रेससहितको राप्रपा(प्रजातिन्त्रक) गठबन्धनका नेता विक्रम पाण्डेलाई नौ हजार ३४१ मतले पराजित गर्दै विजयी भएका हुन् । अध्यक्ष दाहालले ४८ हजार २७६ मत प्राप्त गरेका छन् । 

bam gathabandan

विशेष