News

रौतहटमा प्रहरी र फोरम कार्यकर्ताबीच झडप, १७ घाइते

रौतहटमा प्रहरी र फोरम कार्यकर्ताबीच झडप, १७ घाइते

रौतहट । रौतहटको मध्यभाग गरुडा नगरपालिकामा गएराति संघीय समाजबादी फोरम तथा राष्ट्रिय जनता पार्टीका कार्यकर्ता र प्रहरीबीच दोहरो झडप भएको छ।

राति ८ बजे गरुडा नगरपालिका–५ महमदपुर गाउँमा प्रोजेक्टरमार्फत चलाइरहेको भिडिओलाई प्रहरीले नियन्त्रण लिन खोजेपछि झडप भएको हो। झडपमा परेर १४ प्रहरी र गठबन्धनका ३ कार्यकर्ता घाइते भएको प्रहरीले जनाएको छ।

प्रहरीमाथि ठूलो सङ्ख्यामा रहेका गठबन्धनका कार्यकर्ताले ढुंगामुढा प्रहार गरेपछि स्थिति तनावग्रस्त बनेको थियो। स्थित नियन्त्रणमा लिन प्रहरीले २५ राउन्ड हवाइफायर र एक दर्जन अश्रुग्यास सेल प्रहार गर्नुपरेको गरुडा इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक गोविन्द थापाले बताए। झडपमा परेर घाइते भएका तीनै जनाको टाउकामा चोट लागेको छ। घाइतेमध्ये दुई जनाको चन्द्रनिगाहपुर अस्पताल र एक जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ

प्रहरीतर्फ १० र ४ जना सशस्त्र प्रहरी गरी १४ जना घाइते भएका छन्। दुई जनाको टाउकामा टाँका लागेको, एक जनाको हात भाँचिएको, एक प्रहरीको छातीमा गम्भीर चोट लागेको र बाँकीलाई सामान्य चोटपटक लागेको प्रहरी निरीक्षक थापाले जानकारी दिए।

फोरमका नेता योगेन्द्र यादवले अन्य दलले आचारसंहिता उल्लङ्घन गर्दा प्रहरीले वास्ता नगरेको तर मधेशवादीमाथि दमन गरिरहेको आरोप लगाएका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले निर्वाचन आचारसंहिता विपरीत कुनै पनि दलका कार्यकर्ताले काम गरेको पाइएमा अथवा सूचना आएमा नियमानुसार कारबाही गर्ने बताए। 

विशेष