विदेश

फेरि आयो ट्रम्प माथि यौन शोषणको मुद्धा, यी तीन महिलाले लगाए यस्तो आरोप

फेरि आयो ट्रम्प माथि यौन शोषणको मुद्धा, यी तीन महिलाले लगाए यस्तो आरोप

एजेन्सी । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले आफूलाई राष्ट्रपति ट्रम्पले यौन दुर्व्यवहार गरेको आरोप लगाउने तीन महिलाको राजनीतिक उद्देश्य र उनीहरुले उक्त आरोप लगाएको समयबारे प्रश्न उठाएको छ।

राष्ट्रपतिकी प्रवक्ताले ती आरोपविरुद्ध छानबिनका लागि संसदीय जाँच गराइनुपर्ने मागहरु खारेज गरेकी छन्। यसअघि रेचल क्रुक्स, जेसिका लिड्स र समान्था होल्भेले ‍राष्ट्रपति चुनिनु अघि ट्रम्पले आफूहरुलाई अश्लील ढंगले छोएको, जबरजस्ती चुम्बन गरेको र अपमान गरेको आरोप लगाएका छन्।
ह्वाइट हाउसले ती आरोपहरु झुटो भएको बताएको छ।

आरोप

न्यू योर्क शहरमा पत्रकार सम्मेलन गर्दै ती तीन महिलाले राष्ट्रपति ट्रम्पले आफूहरुलाई यौन दुर्व्यवहार गरेको बताएका हुन् । उक्त पत्रकार सम्मेलन ब्रेभ न्यू फिल्म नामक संस्थाले गरेको थियो जसले अघिल्लो महिना ट्रम्प र १६ महिला शीर्षकको डकुमेन्ट्री निर्माण गरेको थियो। ती तीनै महिलाले अघिल्लो वर्षको राष्ट्रपति चुनावभन्दा एक महिनाअघि आफूहरुलाई राष्ट्रपति ट्रम्पले दुर्व्यवहार गरेको बताएका थिए।

आफूमाथि भएका दुर्व्यवहारबारे उनीहरुले प्रत्यक्ष टेलिभिजन कार्यक्रममा समेत विस्तृत रुपमा बोलेका छन्। त्यस्तो अभियोग लगाउने मध्येकी एक रेचल क्रुक्स भन्छिन्, म हामी अमेरिकीहरुले आफ्ना राजनीतिक मतहरु पर सारेर राष्ट्रपति ट्रम्पलाई गलत व्यवहारका लागि जवाफदेही बनाउनुपर्छ भन्नेमा विश्वस्त छु ।  

खण्डन

ह्वाइटहाउसकी प्रवक्ताले चाहिँ चुनावी अभियानका क्रममा नै राष्ट्रपति ट्रम्पले ती महिलाहरुका आरोपबारे प्रत्यक्ष रुपमा जवाफ दिइसकेको बताइन्। त्यसपछि चुनावमार्फत ट्रम्प अनुमोदित भएको उल्लेख गर्दै उनले ती आरोपहरु सम्बोधन भइसकेको उल्लेख गरिन्। चुनावी अभियानका क्रममा ट्रम्पले ती आरोप अस्वीकार गर्दै कानूनी उपचार खोज्ने बताएका थिए। तर उनले त्यस सम्बन्धी मुद्दा भन्ने अहिलेसम्म दायर गरेका छैनन् ।

बिबिसी

विशेष