‘मोष्ट वान्टेड’ रेशम चौधरीकाे विजय उत्सव हुदैं, सेना पनि परिचालन
धनगढी। कैलाली क्षेत्रनम्बर १ बाट राजपा उम्मेदवार रेशम चौधरी वाम गठबन्धनबाट एमालेकी उम्मेदवार गरिमा शाहलाई झण्डै २१ हजार मतअन्तरले पछि पार्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।अहिले विजय जुलुस भइरहेकाे छ।
विजय जुलुश हुलाकी राजमार्ग हुँदै हसुलिया, लालबोझी, भजनी हुँदै टिकापुरसम्म पुग्ने योजना बनाइएको छ । यी गाउँमा थारु समुदायको बाहुल्यता छ ।
विजय जुलुसलाई लक्षित गरी कैलाली क्षेत्रनम्बर १ मा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
तीनवटै सुरक्षा निकायका जिल्ला प्रमुखहरु टीकापुरमा भेला भएका छन् । नेपाल प्रहरीका विनोद घिमिरे, सशस्त्र प्रहरीका श्याम कोइराला र अनुसन्धान विभागका योगेन्द्र केसी क्षेत्र नम्बर १ मा छन् । ठाउँ-ठाउँमा सादा पोशाकमा सीआईबीको टोली पनि परिचालन गरिएको छ ।
थारू आन्दोलन उत्कर्षमा पुगेको बेला ०७२ भदौ ७ गते कैलालीको टीकापुरमा डेढ वर्षीय नाबालकसहित आठ जना सुरक्षाकर्मीको सामूहिक हत्या भएको थियो । यो हत्याकाण्डको मुख्य योजनाकार रेशम चौधरी भएको सुरक्षा संयन्त्रको ठहर छ । हत्या आरोपमा धेरै जनालाई पक्रेर कारबाही प्रक्रिया अघि बढाइए पनि मुख्य आरोपी चौधरी भने फरार छन् ।