News

डेजाभु नाइट क्लबका सञ्चालक र कार्यक्रमका आयोजक पक्राउ

डेजाभु नाइट क्लबका सञ्चालक र कार्यक्रमका आयोजक पक्राउ

काठमाडौँ । काठमाडौँ दरबारमार्गस्थित डेजाभु नाइट क्लबका सञ्चालक र कार्यक्रमका आयोजकसहित आठ जनालाई महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले आज पक्राउ गरेको छ । 

चर्चित अन्तर्राष्ट्रिय ‘डिस्को जक्की’ मार्समेलोले बुधबार क्लबमा प्रस्तुति दिने भन्दै क्लबका सञ्चालकले करिब पाँच हजार जना सेवाग्राहीबाट टिकटको रकम उठाएको तर मार्समेलो नआएपछि उठाएको रकम फिर्ता गर्न सञ्चालक र आयोजकले अटेरी गरेको उजुरी परेपछि उनीहरुलाई पक्राउ गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिपेश लोहोनीले जानकारी दिए । 

क्रिकेटर पृथु बाँस्कोटाका साथ मयक खड्का, जयन श्रेष्ठ, आकाश न्यौपाने, विशाल डाँगी, मिलन श्रेष्ठ, राजीव महर्जन र रितेश माडवाडी पक्राउ परेका छन् । उनीहरुले टिकटबापत रु दुई हजारदेखि पाँच हजारसम्म प्रतिव्यक्ति उठाएको महाशाखाका प्रमुख लोहनीले जानकारी दिए । 

पूर्व निर्धारित कार्यक्रमअनुसार बुधबार मार्समेलो बिमारी भएको भन्दै क्लबको कार्यक्रममा उपस्थित नभएपछि कार्यक्रममा आएका सेवाग्राहीले क्लबमा तोडफोडसमेत गरेका थिए । 

Deji Lob prithu baskota

विशेष