News

माओवादी र एमाले एकता नहुने !

माओवादी र एमाले एकता नहुने !

सिमीकोट। गत मंसिर १० मा सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनका आधिकारिक उम्मेदवार विरुद्ध लाग्ने माओवादी र एमाले नेता तथा कार्यकर्ताहरूलाई केन्द्रले कारबाही नगरे हुम्लामा एमाले र माओवादी केन्द्र बीच हुने भनिएको पार्टी एकीकरणमा सहभागी नहुने माओवादी केन्द्र हुम्लाले चेतावनी दिएको छ।

दुवै पार्टी बीच चुनावी तालमेल गर्ने केन्द्रको निर्णय अनुसार हुम्लामा समेत प्रतिनिधि र प्रदेशसभामा मिलाएर उम्मेदवार उठाएको भए पनि माओवादी केन्द्रका जिम्मेवार नेता र एमाले नेतृत्वले गठबन्धनको केन्द्रीय नीति विपरीत स्वतन्त्र उम्मेदवारलाई सहयोग गरेको माओवादी केन्द्रले बताएको छ। गठबन्धनबाट चुनाव लडे पनि प्रतिनिधि र प्रदेशसभा ‘ख’ का उम्मेदवारले हार बेहोर्नु परेको भन्दै माओवादी हुम्लाले गठबन्धनलाई धोका दिने दुवै पार्टीका जिल्ला र केन्द्रीय स्तरका नेतालाई कारबाहीको माग गरेको हो।

गठबन्धनका तर्फबाट प्रतिनिधिसभा उम्मेदवार तथा माओवादी केन्द्र हुम्लाका इन्चार्ज छिमी लामा आशाकरद्वारा हस्ताक्षरित विज्ञप्ति मार्फत आफ्नो पार्टी माओवादी केन्द्रका पोलिटब्युरो सदस्यद्वय कर्णजित बुढाथोकी र छिरिङ डम्डुल लामालाई कारबाहीका लागि केन्द्रमा सिफारिस गरिएको छ। चुनावमा माओवादी केन्द्रका आधिकारिक उम्मेदवार छिमीदोर्जी लामा विरुद्ध बागी उठेका छक्क बहादुर लामाले प्रतिनिधिसभा सदस्यमा विजय प्राप्त गरेका थिए।

यता माओवादी केन्द्र हुम्लाले गत मंसिर १० मा सम्पन्न निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवार विरुद्ध लाग्ने तीन दर्जन नेता तथा कार्यकर्ताहरूलाई अनुशासनको कारबाही गरेको छ भने पोलिटब्युरो सदस्य कर्णजित बुढाथोकी र छिरिङ डम्डुल लामा सहित गाउँ देखि जिल्लास्तरका २५ जना नेतालाई तत्काल कारबाहीको माग गरिएको छ। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ।

विशेष