News

अग्र्यानिक तरकारी खेतीबाट मनग्य आम्दानी

अग्र्यानिक तरकारी खेतीबाट मनग्य आम्दानी

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका– १ रामनगरका किसान व्यावसायिक अग्र्यानिक तरकारीखेती गरेर मनग्य आम्दानी लिन थालेका छन् ।

घरमै तयार गरेको अग्र्यानिक मलको प्रयोग गरी यहाँका किसानले १५ बिगाहा अन्न फल्ने खेतमा तरकारी खेती गरेका छन् ।

अग्र्यानिक तरकारी उत्पादनका लागि यहाँका किसानले घरमै मल तयार गर्ने र जैविक विषादी तयार गरी खेतबारीमा हाल्ने तरिकाबारे तालीमसमेत लिएका छन् । व्यावसायिक बन्नका लागि तरकारी खेती गर्ने तरिका सिकेर तरकारी खेतीबाट उत्पादन लिन थालेको सदावहार आइपिएम कृषक समूहका बिस्पती चौधरीले बताए ।

पहिले पहिले खेतमा धान र गहुँ गरी दुई वटा बाली मात्रै लगाउथ्यौँ उनले भने, “व्यावसायिक खेती गर्नेबारे तालीम लिएपछि तरकारी खेती गर्न थालेका छौँ ।” अन्नभन्दा तरकारी खेतीबाट तेब्बर बढी आम्दानी हुने भएकाले मौसमी र बेमौसमी तरकारी खेतीलाई अगाडि बढाइएको उनले बताए ।

पाँच कट्ठादेखि एक बिगाहा जग्गामा समूहमा आबद्ध किसानले काउली, बन्दा, खुर्सानी, टमाटर, हरियो सागपात लगाएका छन् । एक बिगाहा जग्गामा तरकारी खेती गरेका लालबहादुर चौधरीले तरकारी रोपेको दुई महिनामै काउली बिक्री गरी रु ५० हजारभन्दा बढी आम्दानी गरेको बताए ।

दुई वटा समूहमा आबद्ध यहाँका ५० जना किसानले ‘एनएनएरडब्लुए’ नामक संस्थाको रु एक लाख २५ हजार आर्थिक तथा प्राविधिक सहयोगमा १५ बिगाहा जग्गामा तरकारी खेती गरेका छन् । उत्पादित तरकारी यहाँका किसानले साइकल र मोटरसाइकलमा राखेर नजिकैका बेलौरी, कलकत्ता र बेलडाँडीलगायतका बजारमा लगेर बिक्री गर्दै आएका छन् ।

तरकारी खेतीमा संलग्न किसानले वार्षिकरुपमा रु एक लाखदेखि रु सात लाखसम्म आम्दानी गर्दै आएको वीरेन्द्र चौधरीले बताए ।

अग्र्यानिक तरकारीको मूल्य अरु तरिकाले उत्पादन गरिएको तरकारीभन्दा बढी हुने गरेको भए पनि पर्याप्त बजार नहुँदा सस्तोमै बेच्नुपर्ने बाध्यता रहेको अर्का किसान हरिदास चौधरीले बताए ।

उनले भने, “आर्थिक सहयोग गर्ने संस्थाले तरकारी संकलन गर्ने घरसमेत निर्माण गरिदिएकाले तरकारी संकलन गरी ढुवानीका साधनमार्फत बजारमा बेच्नका लागि लैजाने योजना बनाएका छौँ ।”

बजारमा तरकारी खरिद गर्ने व्यापारीलाई यस क्षेत्रको अवलोकन गराइएकाले जति तरकारी उत्पादन भए पनि खरिद गर्छु भन्ने प्रतिबद्धता गरेकाले तरकारी उत्पादन गर्नमा बढी उत्साह थपिएको उनले बताए ।

सोही संस्थाको आर्थिक सहयोगमा नगरपालिकाको वडा नं ३ कर्णाली टोलका बासिन्दाले समेत १५ बिगाहामा तरकारी खेती गरेका छन् । सहयोगी संस्थाले सिँचाइका लागि बोरिङ, तरकारी संकलन गर्ने घर निर्माणसँगै बीउ, बिषादी र मलको व्यवस्था गरेको छ ।

नगरपालिकाका कृषि शाखाका प्रमुख रणबहादुर मल्लले किसानले लोभलाग्दो तरिकाले तरकारी उत्पादन गरेकाले थप तालीम र अन्य सहयोग गरिने बताए । “किसानद्वारा उत्पादित तरकारीको बजार मूल्य उपलब्ध गराउनका लागि हामी पनि सहयोग गर्छौं”– उनले भने ।

tarkari kheti

विशेष