News

चुलाचुली जाने दु्रतमार्ग निर्माण गरिने : नेता नेम्वाङ

चुलाचुली जाने दु्रतमार्ग निर्माण गरिने : नेता नेम्वाङ

इलाम । नेकपा (एमाले) का नेता तथा सांसद सुवास नेम्वाङले इलामको सोयाक हुँदै चुलाचुली जानका लागि द्रुतमार्ग निर्माण गरिने बताएका छन् । 

माई नगरपालिका–७ कपरसुक्कामा आज आयोजित भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रममा उनले विकासको दृष्टिकोणले पछाडि परेको यहाँ इलामको सोयाक–महमाई हुँदै चुलाचुली पुग्ने दु्रतमार्ग निर्माण आफ्नो पहिलो एजेण्डा हुने बताए ।

महमाई र दानाबारीबीचमा पर्ने माईखोलामा पर्ने चण्डालघाटमा निर्माणाधीन पुल छिटो सम्पन्न गर्न उनले आग्रहसमेत गरे । “यो पुल बनेपछि महमाईको कायापलट हुनेछ, महमाई शहर केन्द्रित हुन्छ”, उनले भने, “यहाँबाट महमाई, बाँझो, सोयाक, जितपुर आउजाउ गर्न सहज हुनेछ ।”

महमाई क्षेत्रको अव्यवस्थित बसोबास, सुकुम्बासी समस्या समाधान गर्न पहल र प्रयत्न गर्ने बताउँदै उहाँले वाम गठबन्धनको सरकार गठन भएपछि विकास र समृद्धितर्फ मुलुक अघि बढ्ने विचार व्यक्त गरे ।

उनले अब मुलुकलाई आर्थिक समृद्धि र विकासको पथतिर लैजाने बताउँदै पाँच वर्षभित्रमा जनताले अनुभूत गर्नेखालका ठोस योजना लागू गरिने बताए । कार्यक्रममा प्रदेशसभा सांसद धीरेन्द्र शर्माले जिल्लाको दक्षिणी क्षेत्र विकासमा पछि परेकाले अब आफ्नो पहिलो काम विकास नै हुने बताए ।

अर्का प्रदेश सांसद राम रानाले बढ्दो बेरोजगारी समस्यालाई समाधान गर्न र विदेश पलायन रोक्नका लागि दक्ष जनशक्ति तयार गर्न प्राविधिक शिक्षालय स्थापना गरिने तथा कलकारखानाको स्थापना गरी स्वदेशमै रोजगारीको ग्यारेन्टी गरिने बताए । 

subash chandra nembang

विशेष