विदेश

चर्चमा विष्फोट, ८ को मृत्यु ४४ घाइते

चर्चमा विष्फोट, ८ को मृत्यु ४४ घाइते

पाकिस्तान । पाकिस्तानको दक्षिणपश्चिम प्रान्तको राजधानी क्वेटास्थित एक चर्चमा आइतबार भएको आक्रमणमा परी कम्तीमा ८ जनाको मृत्यु भएको छ भने ४४ जना घाइते भएका छन् ।

क्वेटाको एक सामुदायिक अस्पतालका प्रवक्ता वासिम वैगले दिएको जानकारी अनुसार ८ जनाको मृत्यु भएको छ भने ४४ जना घाइते भएका छन् । घटनामा थप केही जना गम्भीर घाइते रहेका बताउँदै मृतक सङ्ख्यामा वृद्धि हुनसक्ने प्रवक्ता वैगले बताए ।

स्थानीय सञ्चारमाध्यमले घटनामा करिब १० देखि १५ किलोग्राम विस्फोटक पदार्थ प्रयोग भएको बताएका छन् । घाइतेमध्ये ९ जनालाई गम्भीर चोट लागेको बताइएको छ ।

बलोचिस्तान प्रान्तका आन्तरिक मामिला मन्त्री सर्फाज वुग्टीले ४ जनाको समूहमा आएका आतङ्ककारीले जारगुम सडक क्षेत्रमा रहेको वेथेल मेमोरियल मेथोडेस्ट चर्चको प्रवेशद्वार नजिकै आक्रमण गरेका बताए  । आक्रमणकारीले विष्फोटक पदार्थसहित चर्चमा प्रबेश गर्न खोज्दै गर्दा सुरक्षाकर्मीले चलाएको गोली लागि एक जनाको मृत्यु भएको र एक अर्को व्यक्ति सुरक्षाकर्मीको गोली लागि घाइते भएको अवस्थामा आत्मघाती विस्फोट गराएको मन्त्री वुग्टीले जानकारी दिए । दुई जना भने चर्चको भीडको फाइदा लिँदै भाग्न सफल भएका छन् ।

आक्रमण हुँदा चर्चमा प्रार्थनाका लागि करिब ५०० धर्माबलम्बी रहेका थिए । घटनामा घाइते सवैजनाको स्थानीय विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

विशेष