News

तराईमा शितलहरले जनजीवन प्रभावित

तराईमा शितलहरले जनजीवन प्रभावित

नेपालगञ्ज । पश्चिम तराईका जिल्लामा चार दिनदेखिको शीतलहरले जनजीवन कष्टकर बन्न थालेको छ। कुहिरोले आकाश ढाकिने गरेको छ भने नेपालगन्जबाट हुने हवाई उडान अनियमित हुन थालेका छन्। बिहानका उडान अवरुद्ध हुँदा नेपालगन्ज–काठमाडौं आउजाउ गर्नेहरू समस्यामा पर्न थालेका छन्।

बिहान कुहिरो र शीतलहरले नजिकै देख्न समस्या भएपछि सवारी चालकहरू हेडलाइट बाल्न बाध्य छन्। नेपालगन्जस्थित हावापानी फिल्ड कार्यालयकी प्रमुख रीता महतोले नेपालगन्जको तापक्रम ६ दशमलव ८ मा झरेको बताइन्। आइतबार दिउँसो यहाँको तापक्रम १९ दशमलव ५ सेल्सियसमा झरेको खबर आजको कान्तिपुरमा छ। राति पनि शीतलहर चलेका कारण चिसो बढी हुने गरेको छ। ‘शीतलहरका कारण तापक्रम घटेपछि चिसो बढी महसुस भएको हो।

दिउँसो केहीबेर आकाश खुल्ने गरेकाले त्यति बेला तापक्रम बढ्छ,’ महतोले भनिन्। हवाई उडान हुन कम्तीमा २ हजार भिजिबिलिटी आवश्यक पर्छ। तर, शीतलहर र कुहिरोले आकाश ढाक्दा बिहान उडान हुन नसकेको नेपालगन्जस्थित नागरिक उड्डयन प्राधिकरण कार्यालयले जनाएको छ। नेपालगन्जबाट काठमाडौं र कर्णालीका लागि दैनिक दर्जनभन्दा बढी उडान हुने गरेका छन्। शीतलहरका कारण बिहानको समयमा नेपालगन्जमा चहलपहल कम हुन थालेको छ। सर्वसाधारण आगो तापेर चिसो छल्ने प्रयास गरिरहेका देखिन्छन्।

विशेष