News

यी नै हुन् सिंहदरबारबाट गाडीका पाङ्ग्रा चोर्ने चोर

यी नै हुन् सिंहदरबारबाट गाडीका पाङ्ग्रा चोर्ने चोर

काठमाडौं । महानगरीय प्रहरी वृत्त अनामनगरका डीएसपी अपिल बोहोराले एकाबिहानै अनौठो खबर सुने । उनले चोरीको खबर त सधैं सुनेका थिए तर आइतबार सुनेको खबर भने सामान्य खालको थिएन । चौबीसै घण्टा सुरक्षा घेराभित्र रहने र चारैतिर सीसीटीभी निगरानीमा रहने सिंहदरबारभित्रै भएको चोरीको खबरले उनलाई छक्कै पार्‍यो ।

डीएसपी बोहोरा त्यतिबेला पो चकित परे, जब उनले स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग ९डोलिडार०अन्तर्गतको सस्पेन्सन ब्रिज डिभिजन पुल्चोकको बा२झ २९२७ नम्बरको नयाँ टोयटा हाइलक्स गाडीका चारै टायर ९डिस्कसहित० चोरी भएको जानकारी पाए । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको पार्किङस्थलबाटै गाडीको डिस्कसहित चोरी भएको खबर आजको कान्तिपुरमा छ ।

खबर सुनेलगत्तै बोहोराले मन्त्रालयको क्षेत्र कभर गर्ने सीसीटीभी फुटेजको अध्ययन थाले । साथै उनले शनिबार सिंहदरबार छिर्ने गाडीको नम्बर सूची पनि नियाले । डीएसपी बोहोराले मध्यदिन नहुँदै सिंहदरबारभित्रको चोरीको घटनाको रहस्य पत्ता लगाइछाडे । नयाँ टायर चोरेर बेच्ने अरू कोही नभएर स्थानीय निकाय वित्तीय आयोगको कार्यालय, पुल्चोक ललितपुरमा कार्यरत गाडीचालक चन्द्रबहादुर मोक्तान थिए ।

प्रहरीका अनुसार शनिबार कार्यालय बिदाको दिनमा मोक्तान आयोगको सरकारी गाडी लिएर टायर चोर्न सिंहदरबार पसेका थिए । अनुसन्धानमा संग्लन प्रहरीका अनुसार १ घण्टाभन्दा बढी समय लगाएर उनले सबै चक्काको नट–बोल्ट खोलेर डिस्कसहित टायर निकालेका थिए । यसरी निकालिएको टायर उनले आयोगकै बा२झ १२१७ नम्बरको गाडीमा राखेर सिंहदरबारबाट बाहिरिए ।

टायर चोरी भएको गाडीका चालक कृष्णसुन्दर श्रेष्ठले शुक्रबार साँझ मन्त्रालयअगाडि गाडी पार्किङ गरी राखेका थिए । आइतबार बिहान ९ नबज्दै गाडी लिन आएका चालक कृष्णसुन्दरले चक्का नदेखेपछि कार्यलयमा खबर गरेका थिए । चोरीको खबर त्यसपछि मात्रै प्रहरीकहाँ पुगेको थियो ।

प्रहरीले सीसीटीभी फुटेजमा मोक्तानलाई टायर निकाल्दै गरेको अवस्थामा देखेको थियो । साथै उनी बिदाको दिन पनि सरकारी गाडी लिएर सिंहदरबार छिरेको पश्चिम गेटमा राखिने अभिलेखमा देखिएको थियो ।

शंखमूलस्थित बराही टायर सेन्टरमा पुगेपछि पो प्रहरीले पत्तो पायो, मोक्तानले टायर निकालेर बेच्न योजनाबद्ध रूपमा काम गरेका थिए । मोक्तानले सेन्टरबाटै नीलो रंगको ‘हाइड्रोलिक ज्याक’ ल्याएर टायर निकाल्न प्रयोग गरेका थिए । प्रहरीका अनुसार चोरिएका टायर र डिस्कसहितको मूल्य ६ लाख ६२ हजार रुपैयाँमा पर्छ ।

टायर चोरीमा मिलेमतो गरेको आशंकामा सेन्टरका जगतबहादुर मगरलाई पक्राउ गरी अनुसन्धान थालेको प्रहरी वृत्तले जनाएको छ । प्रहरीका अनुसार चोरी गर्ने मोक्तान भने फरार छन् । कान्तिपुरसँग कुरा गर्दै बोहाराले भने, ‘सिंहदरबारभित्र यसअघि पनि गाडीका टायर चोरी हुने गरेका थिए । मन्त्रालयबाटै ल्यापटप हराएका खबर पनि सुनिएका थिए । तर, यो सार्वजनिकमध्येकै ठूलो हो ।’ बोहोराले फरार मोक्तानले यसअघि पनि टायर चोरी गरेको हुन सक्ने बताए । उनले भने, ‘अनुसन्धानपछि धेरै तथ्य बाहिर आउनेछ ।’

 

विशेष