विदेश

जब ओबामाको देब्रे हातको कलम दगुर्न थाल्यो

जब ओबामाको देब्रे हातको कलम दगुर्न थाल्यो

काठमाडौं । सन् १९९२ को अमेरिकी राष्ट्रपति चुनाव प्रचारका क्रममा बिल क्लिन्टनमाथि एउटा उपन्यास सार्वजनिक भयो: ‘प्राइमरी कलर्स– अ नोभेल अफ् पोलिटिक्स’ ।

अमेरिकी राष्ट्रपति चुनावको इतिहासमा त्यसअघि पनि त्यस्तो प्रयोग नगरिएको होइन । रोबर्ट पेन वारेनले सन् १९४६ मा ‘अल द किंग्स् मेन’ लेखिसकेका थिए । ‘प्राइमरी कलर्स’ का लेखकको नाम भने गोप्य राखियो । पछि खुल्न आयो, त्यसका लेखक ‘टाइम’ म्यागजिनका पत्रकार जो क्लेन रहेछन् । तिनै क्लेनले राष्ट्रपति बाराक ओबामामाथि पछिल्लो टाइम म्यागजिनमा एउटा छोटो लेख लेखेका छन् । यो त्यसैको अनुवाद हो । 

आठ वर्षअघि सन् २००८ को अमेरिकी राष्ट्रपतीय चुनाव अभियानको अन्त्यतिर मिसेल ओबामाले मलाई सोधिन्, ‘क्लेन, तिमी बाराक र मेरो बारेमा अर्को ‘प्राइमरी कलर्स’ जस्तै केही लेख्दैछौ कि रु’ उनले सन् १९९२ मा छापिएको मेरो व्यंग्यात्मक उपन्यासको सन्दर्भ उप्काउँदै यसरी सोधेकी थिइन् ।

मिसेलको कुराले म अलिकति हच्किएँ । यस्तो त मलाई कहिल्यै सोधिएको थिएन । उनका पति बाराक हाँस्न थाले । ‘क्लेनले हाम्रो बारेमा त्यस्तो पुस्तक लेख्नै सक्दैनन्,’ ओबामाले भनेका थिए, ‘हामी एकदम एक रसका, उराठलाग्दा बोरिङ छौं क्या ।’

एक रसका ? त्यो पक्कै वाहियात कुरो थियो । संयुक्त राज्य अमेरिकाका पहिलो अफ्रिकन अमेरिकन राष्ट्रपति त्यस्तो नीरस खाले कहिल्यै थिएनन् । तर एक हिसाबले उनले भनेको सही पनि हो । उनको कार्यालयमा कुनै स्क्यान्डल त के, त्यसको छनकसम्म सुनिएन । बिल क्लिन्टनको कार्यकालमा चलेको परम्परावादी लहर त्यसपल्ट घट्न त घटेको थियो, तर रंगमा आधारित घृणा र भय भने अझै बढेको थियो । ओबामा दम्पतीले आफूभित्र त्यस्तो भावना घर गर्न दिएनन् ।

सैनिक घेराभित्र हरक्षण हुने भए पनि उनीहरूले आफ्नो परिवारलाई एकदमै सामान्य शैलीमा चलाए । प्रथम महिला मिसेलले ह्वाइट हाउसका कर्मचारीलाई अवगत गराइन्, छोरीहरू मालिया र सासाले आफ्नो बिछ्यौना मिलाउनेदेखि अन्य व्यक्तिगत काम आफैं गर्नेछन् । सधैं व्यस्त शक्तिराष्ट्रका यी कार्यकारी आफ्नो बेलुकीको खाना खान अक्सर घरै पुगे । मिसेलले तरकारीबारी गोडिरहिन् । बाराक बाहिरी दुनियाँ छाडेर घर पसेका बेला, अनि आत्मकेन्द्रित भई बसेका बेला उनले यस्ता घरेलु फन्दामा बेलाबखत अल्झाउन छाडिनन् ।

राष्ट्रपति ओबामाले जब नोबेल शान्ति पुरस्कार पाए, यसअघि कुनै बेला उक्त पुुरस्कार जित्ने मार्टिन लुथर किङ जुनियर र अल्बर्ट स्वेजरझैं उनलाई पनि पुरस्कृतको खातामा केही संक्षिप्त सन्देश लेख्न भनियो । ओबामा त्यो पुस्तक अघिल्तिर बसे । देब्रे हातको कलम दगुर्न थाल्यो, दगुर्‍यो, दगुर्‍यो । निकै बेरसम्म एकोहोरो दगुरिरह्यो । अन्तिममा मिसेल आफैंले हस्तक्षेप गरिन्, ‘हनी, तिमी पुस्तक लेख्न थाल्यौ ?’ उनीहरूको शारीरिक, संवेगात्मक र बौद्धिक छाँट असाध्यै उम्दा प्रकारको थियो । सार्वजनिक ठाउँमा उनीहरूले कहिल्यै तमासा मच्चाएनन् । कस्तै विपत्ति र चिच्याटलाग्दो क्षण सामना गर्नुपर्दा पनि ओबामाले सधैं आफ्नो ओजपूर्ण छवि जोगाइरहे । हो, उनले पनि केही गल्ती गरे, जस्तो कि सबै कार्यकारीहरू गर्छन् । सिरियामा ‘रेड लाइन’ घोषणा गरे, तर संकट आइसक्दा पनि कुनै युद्धको पहल लिएनन् । चम्चागिरी र प्रशंसाजस्ता राजनीतिका सामाजिक आयाममा रमाउने नाटक उनले गरेनन् । एकपल्ट मैले उनका उच्च तहका सहयोगीलाई सोधेको थिएँ, ‘उनी किन प्रतिपक्षीहरूलाई ह्वाइटहाउसमा खानपिन वा सिनेमाका लागि बोलाउँदैनन् ?’ सहयोगीले जवाफ फर्काए, ‘ओबामा भन्छन् : मैले बोलाउँदा उनीहरूले पीठ फर्काइदिए भने नि ?’ सायद उनले भनेको सही होला पनि । तर वासिङ्टनमा त्यस्ता कुनै आत्मा छैनन्, जो ह्वाइटहाउसको निम्ता पाउँदा पुलकित नहोउन् ।

ओबामाले देखाए, तपाईं आफ्नो कत्ति प्रतिष्ठा नघटाई पनि उच्च ओहदाको अवधि बिताएर बाहिरिन सक्नुहुन्छ । कस्तै उतारचढावलाई पनि सहजतापूर्वक लिने उनीहरूको बानी थियो । मिसेलको फेसन सेन्स राम्रो थियो, कहिल्यै असहज प्रतीत भएन । ओबामाले पनि खेलकुद च्यानल ईएसपीएन हेर्न छाडेनन्, बरु पछिल्लो कालमा गल्फको लती बनेकाे खबर काेशेलीमा छापिएकाे छ ।

ओबामा कसैको सकारात्मक योगदानका लागि आफ्ना उच्च प्रशंसाहरूबाट सम्झिइनेछन् । अनि कोही अमेरिकी नागरिक मारियो भने शोकमा उसैगरी समवेदित हुँदै पुग्थे । उनको सबैभन्दा महत्त्वपूर्ण संवेदना त चाल्र्सटन साउथ क्यारोलाइनामा सन्की श्वेत नागरिकबाट मारिएको मृतकमाथि श्रद्धाञ्जलि दिन जाँदा प्रदर्शित थियो । उनले त्यहाँ आफूलाई यति क्षमाशील प्रस्तुत गरिदिए, मृतकको परिवारले गोली प्रहारकर्तालाई क्षमा दिन सहजै तयार भइदियो । त्यस्तो अद्भुत मानवीय क्षणलाई कसरी व्यक्त गर्ने रु शब्दहरू पर्याप्त छैनन् । विनम्रता र समर्पण घोलिएको त्यो गीतले पूरै माहोल फरक बनाइदियो । के यस्ता निर्णयहरू लिन सक्ने, अनि त्यस्तै काम गर्नेको बारेमा पुस्तक लेखियो भने त्यो नीरस, उराठलाग्दो होला त ?

 

विशेष