News

जर्मनीले झण्डै पौने २ अर्ब अनुदान दिने

जर्मनीले झण्डै पौने २ अर्ब अनुदान दिने

संघीय गणतन्त्र जर्मनीले नेपाल सरकारलाई अतिरिक्त विकास अनुदानस्वरुप करीब एक अर्ब ८१ करोड ५० हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेको छ ।

दुईसय २० किलोभोल्ट दमौली–लेखनाथ जलविद्युत् प्रसारण लाइनअन्तर्गत ४३ किलोमिटर प्रसारण लाइन निर्माणका लागि जर्मनीले उक्त रकम अनुदानस्वरुप उपलब्ध गराउने घोषणा गरेको काठमाडौंस्थित जर्मन राजदूतावासले जनाएको छ ।

जर्मन डेभलपमेण्ट  बैंकमार्फत उक्त सहायता रकम नेपाललाई उपलब्ध हुने सो दूतावासले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । गतवर्ष जर्मनीले नेपालमा ऊर्जा क्षमता प्रवर्द्धन तथा नवीकरणीय ऊर्जाका निम्ति  एक अर्ब ९३ करोड ६० लाख रुपैयाँ प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो । लेखनाथ–दमौली दुईसय २० किलोभोल्ट विद्युत् प्रसारण लाइन निर्माण गर्न जर्मनीबाट कूल  तीन अर्ब ७५ करोड १० लाख रुपैयाँ प्राप्त हुनेछ ।

सेती–मादी नदीबाट उत्पादित बिजुली उक्त प्रसारण लाइनमार्फत स्थानीयवासीका घरमा आपूर्ति हुनेछ ।

nepal

विशेष