सत्ता हस्तान्तरण गर्न सरकार आतुरः सञ्चारमन्त्री
काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले निर्वाचनद्वारा अभिव्यक्त जनमतको उच्च कदर गर्दै संवैधानिक प्रक्रिया पूरा गरेर सत्ता हस्तान्तरण गर्न सरकार आतुर रहेको बताएका छन् ।
सरकारका प्रवक्तासमेत रहेका मन्त्री बस्नेतले मुलुकको समसामयिक राजनीतिक विषयमा सरकारको धारणा स्पष्ट पार्न आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री शेरबहादुर देउवाले विधिसम्मत् ढंगले सत्ता हस्तान्तरणमा देखाएको आतुरताका अभिव्यक्ति सञ्चार माध्यममा आइरहँदा समेत अनेकन दूराशययुक्त अभिव्यक्ति आउनु सबैका लागि दुःखलाग्दो विषय भएको बताए ।
निर्वाचनपछि पनि सरकारले नियुक्ति प्रक्रियालाई निरन्तरता दिइरहेको छ भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले सरकार रहेसम्म र प्रधानमन्त्रीले राजीनामा नदिएसम्म नियुक्ति गर्नु सरकारको दैनिक कार्य भएको बताए । साथै, उनले नियुक्ति प्रक्रिया संविधान र कानूनसम्मत् रहेको दाबी पनि गरे ।
सञ्चारमन्त्री बस्नेतले समावेशिताको सिद्धान्त अबलम्बन गर्नै राष्ट्रपति समक्ष प्रस्तुत गरिएको राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश स्वीकृत हुने र त्यसपछि नयाँ सरकार निर्माणको मार्ग प्रशस्त हुने वश्वास व्यक्त गरे । उनले वर्तमान सरकार लोकतान्त्रिक पद्धतिमा रहेको सहज सत्ता हस्तान्तरणका लागि वैधानिक उपायको खोजीमा रहेको बताए ।
मन्त्री बस्नेतले संविधान कार्यान्वयन प्रक्रिया पुरा भएको र अब मुलुकको ध्यान विकास र समृद्धितर्फ केन्द्रित हुनुपर्ने बताए ।
mohanbahadur basnet