विदेश

संयुक्त राष्ट्र संघको विशेष दूतलाई म्यानमार प्रवेशमा रोक

संयुक्त राष्ट्र संघको विशेष दूतलाई म्यानमार प्रवेशमा रोक

काठमाडौं । म्यानमारले संयुक्त राष्ट्र संघका विशेष दूतलाई मुलुकभित्र प्रवेश गर्न रोक लगाएको छ ।

रखाइन प्रान्तमा रोहिंग्या मुसलमानमाथि भएको भनिएको अत्याचार र दमनको अनुसन्धान गर्न आगामी जनवरीमा म्यानमार जाने तयारीमा रहेकी राष्ट्र संघकी विशेष दूत याङ्ही ली लाई प्रवेश गर्न रोक लगाइएको हो ।

याङ्हीले म्यानमार सरकारले आफूलाई रखाइन प्रान्तमा जाने अनुमति नदिएको बताएकी छिन् । उनले म्यानमार सरकारले आफ्नो कार्यकालभर सहयोग नगर्नेसमेत जनाएको बताएकी छिन् ।

याङ्हीले यसअघि गत जुलाईमा म्यानमारको भ्रमण गरेकी थिइन् । म्यानमार सरकारले भने याङ्हीले आफ्नो भ्रमणका क्रममा पक्षपातपूर्ण व्यवहार गरेको आरोप लगाएको छ ।

गत अगष्टमा रखाइन प्रान्तको एक प्रहरी चौकीमाथि रोहिंग्या चरमपन्थीले हमला गरेपछि सेनाले कारबाही गर्दा हिंसा भड्किएको थियो । त्यसपछि साढे ६ लाख रोहिंग्या मुसलमान बंगलादेश पलायन भइसकेका छन् ।

यसैबीच म्यानमारका अधिकारीहरुले रखाइन प्रान्तस्थित एक गाउँमा १० जनाको सामूहिक चिहान फेला परेको जनाएका छन् ।

विशेष