विदेश

भारतको राजस्थानमा बस दुर्घटना, ३२ जनाको मृत्यु

भारतको राजस्थानमा बस दुर्घटना, ३२ जनाको मृत्यु

भारतको एउटा नदीको पुलबाट बस खस्दा भएको दुर्घटनामा परी ३२ जनाको मृत्यु भएको छ । राजस्थान राज्यमा पर्ने सबै मधोपुर जिल्लाको दुबी भन्ने ठाँउमा बनास नदीमा खसेर बस शनिबार दुर्घटना भएको हो ।

उक्त बस  १६ वर्ष उमेरका सहचालकले तीव्र गतिमा चलाएका र नियन्त्रण गुमाएर तीन मिटर माथिबाट नदीमा खसेको वरिष्ठ प्रहरी अधिकारीले बताएका छन् ।  घटनाको खास कारण अहिलेसम्म स्पष्ट नभए पनि अर्को सवारीलाई उछिन्न खोज्दा चालकले नियन्त्रण गुमाएका हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

बसमा ५० जना यात्रु थिए । उनीमध्ये केही अझै हराइरहेका छन् भने केहीको शव नदीबाट बाहिर निकालिएको छ। घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक रहेको प्रहरीले जानकारी दिएको छ ।

घटनास्थल राजस्थान राज्यको राजधानी जयपुरदेखि १६० किलोमिटर टाढा पर्छ । भारत धेरै सडक दुर्घटना हुने देशमध्येमा पर्छ। सडक दुर्घटना कै कारण भारतमा हरेक वर्ष झण्डै एक लाख ५० हजार जनाको मृत्यु हुनेगरेको सरकारी तथ्यांकले देखाएको छ ।

सडकको नाजुक अवस्था, राम्रोसँग मर्मत नगरिएका सवारी सधान, चालकको लापर्वाही र ट्राफिक नियमको उलङ्घनलगायतका कारणले धेरै दुर्घटना हुने गरेको अधिकारीले बताएका छन् ।

विशेष