विदेश

गर्भमै मार्न खोजिएकी छोरी मन्त्री बनिन

गर्भमै मार्न खोजिएकी छोरी मन्त्री बनिन

नयाँ दिल्ली । भारतको दिल्ली, मंगोलपुरीका भूपेन्द्र तथा शिलाले तीन छोराछोरीपछि अर्को सन्तानको चाहना राखेका थिएनन्। घरको आर्थिक अवस्था डामाडोल भएकाले उनीहरूलाई थप सन्तान पाल्न कठिन थियो। सिंह दम्पतीले गर्भपतनका लागि भरमग्दुर प्रयास गरे ।

चिकित्सकको सल्लाहअनुरूप भूपेन्द्रले पत्नी शिलालाई गर्भपतनको औषधि पनि ख्वाए तैपनि गर्भको उक्त सन्तान जीवित रह्यो। आमाको पेटमै ती शिशुले बाँच्ने इच्छा शक्ति प्रस्तुत गरिसकेकी थिइन्। बुबाआमाको अवाञ्छित सन्तानका रूपमा एउटी बालिका जन्मिइन्। तिनै बालिका राखी बिडलाले अहिले प्रजातान्त्रिक मुलुक भारतमा छुट्टै पहिचान बनाएकी छिन् । उनी बुबाआमा, परिवार र मुलुककै लागि गौरव भएकी छिन्। राखीकै कारणले परिवारले छुट्टै सम्मान र ख्याति कमाएको छ। स्वयंलाई क्रान्तिकारी भन्न मन पराउने राखीको प्रजातन्त्रवादी स्वरूपको प्रशंसा विश्वले गरिरहेको छ।

राजनीतिमा आएको केही महिनामै विधायक र मन्त्री बनेकी राखीले पुरानो ढर्राको राजनीति गर्ने र त्यसलाई पछ्याउने वर्गलाई एक क्षण भए पनि सोच्न बाध्य पारिन्। आखिर सभासद, मन्त्री वा नेता–नेतृ बन्न के चाहिन्छ ? धेरैले भन्लान्, पाको उमेर, कार्यगत अनुभव, बलियो राजनीतिक, आर्थिक एवं पारिवारिक पृष्ठभूमि। सन् २०१३ मा दिल्ली राज्यको विधानसभा निर्वाचनमा बहुमतले निर्वाचित २७ वर्षीया राखीसँग तीमध्ये कुनै पनि खुबी थिएन। विपन्न परिवारमा हुर्के-बढेकी हुनाले उनीसँग दुई पाङ्ग्रे र कार हुने कुरै थिएन। उनको विजय जुलुसका लागि गाडीको प्रबन्ध कार्यकर्ताले नै गरेका थिए। जनताको मन जित्ने खुबी र जोस भए यौन, रक्सी र रकम नबाँडे पनि निर्वाचन जित्न सकिने कुरा उनले सिद्ध गरिन्। बेदाग चरित्रकी रेखा आमा, बुबा, दुई भाइ र दुई बहिनीका साथ साँघुरो पुख्र्यौली घरमा बस्छिन्। उनी बस्दै आएको घर मुस्किलले २५ गजको मात्र छ। उनले मात्र असल नियत राखेर जनताका लागि काम गर्न जानेकी छिन्। यो एक मात्र गुणले पत्रकार राखीलाई मन्त्री पदसम्म मात्र पुर्‍याएन, संसारभर चिनायो।

राखीले सरकारी विद्यालयबाट १२ कक्षा उत्तीर्ण गरिन् भने जैन टिभीको शैक्षिक अभियानका रूपमा सञ्चालित एनबीए स्कुलबाट मास कम्युनिकेसनमा स्नातकोत्तर गरिन्। राखीले जैन टिभीमा संवाददाताका रूपमा काम गर्दै शिक्षा पूरा गरेकी थिइन्। दिल्लीमा भएको दुई आन्दोलनले उनको जीवनको लक्ष्य फेरिदियो। अन्ना आन्दोलन र निर्भया बलात्कार काण्डको रिपोर्टिङका क्रममा उनले सिस्टम बदल्ने संघर्ष जारी राख्ने विचार गरिन्।

विशेष