न्यायालय कसैका लागि नियुक्ति र जागिर खुवाउने ठाउँ हाेइन : प्रधानन्यायाधीश
काठमाडौँ- प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले न्यायालयलाई सधैँ संक्रमणकालीन अवस्थामा राख्न नसकिने हुँदा अब बन्ने सरकारले न्यायालयलाई थप सुदृढ बनाउन ध्यान दिने विश्वास व्यक्त गरेका छन् ।
उनले न्यायालय कसैद्वारा कसैका लागि नियुक्ति र जागिर खुवाउन सिर्जना भएको ठाउँ नभएको उल्लेख गर्दै यसका आफ्नै मूल्य, मान्यता रहेको र आफ्नो प्रयास अविछिन्न रूपमा मूल्य मान्यताअनुरूप न्यायालय सञ्चालन गर्नमा रहेकाे बताए । महान्यायाधिवक्ताको कार्यालयको ६७ औँ स्थापना दिवसका अवसरमा कार्यालयद्वारा शुक्रबार आयोजित कार्यक्रममा प्रधानन्यायाधीश पराजुलीले न्यायालयप्रति रहेको जनविश्वास अझ बलियो बनाउन सामूहिक प्रयत्नको खाँचो औँल्याए ।
उनले सातवटा प्रदेशमा सातवटा उच्च अदालतले न्याय सम्पादन हुनसक्ने चर्चा गर्दै न्यायापालिकाका सेवालाई चुस्त बनाउन सूचना प्रविधिको अधिकतम् उपयोग सुरू गरिएको जानकारी दिए । प्रधानन्यायाधीश पराजुलीले न्यायालयको भौतिक प्रशासनिक सेवा अझ सुदृढ बनाउन यथेष्ट बजेट विनियोजन गर्न माग गर्दै न्यायालयमा बजेट विनियोजन गर्न कन्जुस्याइँ गरिनु नहुने बताए ।
उक्त अवसरमा उनले पूर्वमहान्यायाधिवक्ता रमनकुमार श्रेष्ठलाई सम्मान र उत्कृष्ट सरकारी वकिल तथा कर्मचारीलाई पुरस्कृत गरे । विसं २००८ मा महान्यायाधिवक्ताको कार्यालय स्थापना भएको हो ।
gopal prasad parajuli