डा देवकोटालाई पित्त थैलीसम्बन्धी क्यान्सर, शल्यक्रियासमेत हुन नसक्ने अवस्था
काठमाडौंः वरिष्ठ न्युरोसर्जन डा उपेन्द्र देवकोटालाई पित्ततथैली सम्बन्धी क्यान्सर भएको छ । उनको पित्तथैली र नली वरिपरि क्यान्सर फैलिएका कारण शल्यक्रियासमेत गर्न नसक्ने अवस्था रहेकाले अस्पतालले केमोथेरापी दिएर आवश्यक उपचार गर्ने प्रक्रिया अगाडि बढाएको बताइएको छ ।
डा देवकोटाको बेलायतस्थित किंग्स कलेज अस्पतालमा उपचार भइरहेको छ । डा देवकोटा नेपालमा नै बिरामी भएपछि उपचारका लागि लन्डन पुगेका हुन् । लन्डन जानुअघि उनलाई जन्डिसको लक्षण देखिएको थियो । परीक्षणका क्रममा क्यान्सर देखिएपछि उनी श्रीमती डा मधु दिक्षित देवकोटासँगै थप उपचारका लागि लन्डन पुगेका थिए ।
६३ वर्षीया डा देवकोटा एसियाकै अब्बल न्युरो सर्जनका रुपमा चिनिन्छन् । डा देवकोटाको अवस्था गम्भीर रहेको खबर प्राप्त भएपछि नेपालमा उनको स्वास्थ्य लाभको कामनासहित पशुपति मन्दिर अगाडि आइतबार दीप प्रज्ज्वलन गरिएको छ ।