विपिनको भिन्दै एजेण्डा

विपिनको भिन्दै एजेण्डा

काठमाडाै‌ । बलिउडमा वर्षमा एउटा फिल्ममा काम गर्ने र चरित्रमुखी कलाकारको सदैव चर्चा हुन्छ । त्यसो त पछिल्लो समय धेरै फिल्म खेलेर मनोरञ्जन दिनुभन्दा थोरै तर राम्रो फिल्ममा काम गर्नु र चरित्रमुखी हुनुले नै लोकप्रियतालाई शीर्ष स्थान दिएको छ । आर्थिक रुपमा सबल नरहेको नेपाली कला क्षेत्रमा सिर्जना र चरित्रको बेजोड रुपमा विश्वास गर्ने कलाकार हुन् विपिन कार्की ।

थियटरको जीवन कलाकारहरुलाई पक्कै सहज छैन । काम गर्ने रहर र मनासाय जुनसुकै विधामा भएपनि आर्थिक स्थिती कमजोर हुँदा पेशाप्रति वितृष्णा लाग्दै गएका धेरै उदाहरणहरु छन् । कमैले मात्र यो वास्ताविकतामा बाँच्ने कलाकारले बलिया खुड्किला तय गर्छन् । त्यस्ता सिमित व्यक्ति हुन्छन् जो आफूलाई पैसाले थिच्न दिँदैनन् र सिर्जनाको थिचोमिचोमा त्यसलाई दबाब र अभावमा हुर्काउँदै लैजान्छन् । सायद त्यसैले होला तिनै सिर्जनामा चम्किलो तारा बनेर सजिन्छन् जसलाई कसैको दुष्प्रयासले डगमगाउन सकिदैँन ।

दश वर्षे थियटरको यात्रा र त्यसपछि फिल्म । विपिनको समझनामा ताजै छन् ती पुराना दिनहरु जब उनी समय बिताउनका लागि पुरानो बानेश्वरस्थित गुरुकुल धाउने गर्थे । सुरु सुरुमा त थियटर जाने पैसा हुन्थेन उनीसँग । पैसाको अभाव भएर के भयो ? सृजनशील विपिनले एउटा जुक्ति निकाले, थियटरका कलाकारलाई साथी बनाउने । गुरुकुलका नै गुरु सुनिल पोख्रेलसँग चिनजान भएपछि त नाटक हेर्न जान पैसै तिर्नुपरेन । चर्चित लेखक पाउलो कोहेलोले आफ्नो किताब ‘द अल्केमिस्ट’ मा भनेका छन्, ‘जब तिमी आफ्नो लक्षमा पुग्ने सोच राख्छौ, पूरा ब्रमाण्ड तिम्रो साथमा हुनेछ ।’ सायद विपिनको जीवनमा पनि यस्तै भयो ।

गुरुकुलमा गएर टिकट मिलाउने, कलाकारलाई चिया खाजाको व्यवस्था गर्दागर्दै उनी गुरुकुलसँग नजिकबाट जोडिइसकेका थिए । त्यहाँ भोलेन्टियर गर्दै जाँदा उनले नाटक पनि बुझ्दै गए । एकपटक सडक नाटक गर्दा कलाकार नपुगेपछि उनी सहभागी हुन पाए । त्यसपछि सुरु भयो उनको अभिनय यात्रा । थियटरमा अभिनय गरेको दश वर्षपछि उनी सिलभर स्कृनमा देखिए । त्योभन्दा अघि नै उनको फिल्मी यात्रा ‘आचार्य’ बाट सुरु भइसकेकको थियो । पहिलो पटक फिल्म ‘लुट २’ मा सानो भूमिका निभाएका विपिनको डेब्यु भने ‘छड्के’ नै भयो । फिल्म ‘छड्के’ र ‘पशुपती प्रसाद’ ले चर्चाके उच्च स्थानमा पुर्याइदिए उनलाई । उसै त लजालु स्वभावका विपिनलाई चर्चा कमाउने रहरै थिएन । तर, पेशाले चर्चाबाट वञ्चित गराउन पनि त सकेन ।

फिल्ममा काम गर्ने विपिनको आफ्नो भिन्दै एजेण्डा छ, कुनै पनि भूमिका दोहोराउँदै नदोहोराउने । सायद उनको यही एजेण्डाले गर्दा नै जन्मिए इन्दु, भष्मे डन । विगत केही वर्षदेखि विपिन आफैंमा हिट छन् । यसको लागि उनलाई कुनै हिरो या हिरोइनको छायाँमा पर्नुपरेको छैन । आफ्नै चरित्रमा अडिएर ख्याती पाएपछि बाटोमा मान्छेले पनि चरित्रको नामले पुकार्नुजस्तो ठूलो कुरा एउटा कलाकारको जीवनमा अरु के नै हुन्छ र ? उनले ‘छड्के’ मा गरेको इन्दुले पशुपतिप्रसारको भष्मेलाई र भष्मेलाई ‘जात्रा’ को फडिन्द्र अर्थात फडुले उछिनिसकेको छ ।

अब आउँदै गरेको फिल्म ‘नाका’ मा पनि उनी फरक अवतारमा प्रस्तुत भएका देखिन्छन् । उनको फरक प्रस्तुती हेर्न फागुन १७ सम्म कुर्नु पर्ने छ ।

संम्बधित खबर

विशेष