के तपाईलाई दाह्री काट्न आँउछ ? संक्रमण होला ?

के तपाईलाई दाह्री काट्न आँउछ ? संक्रमण होला ?

काठमाडौं । हामीले नियमित रूपमा दाह्री काट्ने गरेका छौं । तर दाह्री कसरी काट्दा स्वस्थकर एवं वैज्ञानिक हुन्छ भन्ने जानकारी कमैलाई हुन सक्छ । हामीमध्ये धेरैजसोले दाह्री काट्ने तरिका आफ्ना बुवा, काका, दाइ वा कुनै आफन्तबाट सिकेका हुन्छौं ।

विदेशमा छुरा र ब्लेड वा मेसिनले दाह्री काट्ने गरिन्छ भने हाम्रो मुलुकमा अझै पनि छुरा र ब्लेडकै प्रयोग बढी हुने गर्छ । ‘गलत रूपले दाह्री काट्दा सबैभन्दा बढी फलिक्युलाइटिस अर्थात् हाम्रो रौंको जरो (रोमछिद्र) मा संक्रमण हुन्छ,’ छाला रोग तथा सौन्दर्य विशेषज्ञ डा धर्मेन्द्र कर्ण भन्छन्, ‘दाह्री काट्न नजान्दा हामीले धेरै प्रकारका संक्रमण, छालासम्बन्धी समस्या निम्त्याउन सक्छौं ।’

थुप्रै व्यक्तिका लागि दाह्री काट्नु पीडादायक प्रक्रियासमेत हुने गर्छ । उनीहरू दाह्री काट्ने सही तरिका थाहा नभएर वा छिटछिटो त्यो काम सम्पन्न गर्ने निहुँमा आफूलाई नोक्सान पुर्‍याउँछन् । दाह्री काट्नका लागि व्यक्तिविशेषले आफूअनुकूल उपयुक्त समय, ब्लेड, साबुन र प्रक्रिया चयन गर्नुपर्ने औंल्याउँदै डा कर्ण भन्छन्, ‘अनुहारमा डन्डीफोरर एक्ने भएकाहरू, रूखो वा संवेदनशील छाला भएकाहरू, विभिन्न प्रकारका एलर्जी लगायतका समस्यासँग जुध्नेहरूले आफूलाई अनुकूल हुने गरी दाह्री काट्ने सामग्री र तरिका अपनाउनुपर्छ ।’

डन्डीफोर भएकाहरूले विशेष सावधानी अपनाउनुपर्छ । नत्र समस्या अझ गम्भीर हुन सक्छ । यस्ता व्यक्तिले इलेक्ट्रिक रेजरले दाह्री काट्ने गर्नुपर्छ, यद्यपि यसो गर्दा ब्लेडले काट्दा जस्तो चिल्लो नहुन सक्छ ।

अर्को कुरा, दाह्री काट्नलाई परम्परागत रूपको एउटा ब्लेड भएको रेजरको दाँजोमा घुम्ने टाउको भएको, न्यूनतम दुई वा योभन्दा बढी ब्लेडसहितको रेजर उपयुक्त हुन्छ । केही वर्षयता आएका दुई, तीन, चार वटा ब्लेड भएका रेजरहरू चलाउन सजिलो हुनुका साथै जोखिमको सम्भावना पनि कम हुन्छ ।

धारिलो नभएको वा धेरैपटक प्रयोगमा आइसकेको ब्लेडले दाह्री काट्दा समस्या हुन सक्छ । यस्तो अभ्यासले छाला रातो हुन सक्छ । साथै गाला वा घाँटीमा छाला ताछिने, कालाकाला दाग आउने पनि हुन सक्छ ।

‘यति मात्र नभई धार नभएको ब्लेडले रौंसँगै तपाईंको छालाको केही मात्रासमेत खौरेर बाहिर निकाल्छ,’ डा‍ कर्ण आै‌ल्याउँछन्, ‘रेजरलाई छालामा बेस्सरी नभएर हल्का दबाब दिएर दाह्री खौरनुपर्छ ।’

उपयुक्त ब्लेड चयनपछि दाह्री काट्नका लागि सही साबुन अर्थात् सेभिङ जेल वा फोम रोज्नुपर्छ । ‘दाह्री काट्नुअघि अनुहारलाई पानीले राम्ररी भिजाएर साबुन लगाउनुपर्छ । यसले छालाररौं र ब्लेडबीच हुने घर्षण चिप्लो बनाउँछ र अनुहारमा हुन सक्ने नोक्सानलाई कम गर्छ ।’ डा कर्णका अनुसार बास्ना आउने विभिन्न प्रकारका सेभिङ क्रिम, जेल, फोम वा साबुनले एलर्जीसमेत हुन सक्ने भएकाले आफूलाई कुन उपयुक्त हुन्छ भन्ने थाहा पाउनुसमेत आवश्यक हुन्छ ।

अनुहारमा दाह्री कुन दिशाबाट उम्रेको छ र कतातर्फ गइरहेको छ भन्ने बारेसमेत विशेष ध्यान दिनुपर्छ । जुन दिशामा रौँ उम्रेको छ, सधैंभरि त्यही दिशामा काट्ने प्रयास गर्नुपर्छ । धेरैजसो व्यक्तिले अनुहार चिटिक्क पार्न भनेर दाह्री उम्रेको दिशाविपरीत काटने गर्छन् । यसो गर्दा अनुहार बढी सफा त देखिन्छ तर छालाभित्र भएको रौँसमेत काटिन्छ । दाह्री उम्रेको दिशाविपरीत काट्दा अनुहारमा जलन, रातोपना, धब्बा, दाग, संक्रमण आदि हुने सम्भावना बढ्छ ।

दाह्री काट्दा छालामा भएको प्राकृतिक तेल, मोइस्चराइजर आदिसमेत खुर्किने हुन्छ । त्यसैले दाह्री काटिसकेपछि अनुहारमा एन्टिसेप्टिक पदार्थ लगाउनुपर्छ । मोइस्चराइजर तेल आदि लगाउँदा पनि राम्रै हुन्छ । यसो गर्नालेअनुहारको छाला थप सुक्खा हुन पाउँदैन ।

संम्बधित खबर

विशेष