रामचन्द्र गुटको गोप्य भेला, नयाँ रणनीति बनाउँदै कांग्रेस

रामचन्द्र गुटको गोप्य भेला, नयाँ रणनीति बनाउँदै कांग्रेस


काठमाडौं । कांग्रेस नेता रामचन्द्र पौडेलले पार्टीमा अनपेक्षित पराजय व्यहोरेपछि यसको समीक्षा गर्न आफू पक्षधर जिल्ला सभापतिको भेला गरेका छन् । सोमबार राति ठमेलको एक होटेलमा पौडेलले आफ्नो पक्षका १८–१९ जना जिल्ला सभापतिको भेला गर्दै चुनावी समीक्षा गरेका हुन् ।

प्रकाशमान सिंहसहितका नेता र जिल्ला सभापति सहभागी रातिको खानासहितको छलफलमा पौडेलले पार्टी नेतृत्वका कारण प्रदेश सभा र प्रतिनिधिसभामा नमिठो हार व्यहोर्नुपरेको बताएका थिए ।

‘हामीले राष्ट्रिय मुद्दालाई सम्बोधन गर्नेदेखि टिकट वितरण पनि समानुपातिक रूपमा गर्न सकेनौंँ, यसमा नेतृत्व चुकेको छ,’ पौडेलको भनाइ उद्धृत गर्दै सहभागी एक जिल्ला सभापतिले नयाँ पत्रिकासँग भने, ‘अब यसरी नै सधैँ पार्टी चल्दैन । पार्टीले किन र कसरी हार्यो सत्यतथ्य पत्ता लगाएर भोलिका दिनमा हिजोको जस्तै पार्टीको साख ल्याउनुपर्छ ।’

भेलामा काठमाडौं सभापति सबुज बानियाँ, धादिङ सभापति रमेश धमला, इलाम सभापति हिमालय कर्माचार्य, बर्दिया सभापति सञ्जय गौतम, मुगु सभापति खड्गबहादुर शाही, रोल्पा सभापति अमरसिंह पुनसहित सहभागी थिए ।

जिल्ला सभापतिहरूले पनि पार्टीले टिकट नमिलाउँदा जित्ने ठाउँमा पनि पराजय व्यहोरेको बताएका थिए । टिकट दिँदा सभापतिले आफू पक्षका धेरैलाई दिएको भन्दै हारको कारण अन्तर्घात पनि भएको उनीहरूको भनाइ थियो ।

भेलामा जितेका नेतालाई बधाई दिने र हारेकालाई सान्त्वना दिइएको सहभागी एक जिल्ला सभापतिले जानकारी दिए । जिल्ला सभापतिहरूलाई भेला ‘गोप्य’ भन्दै मिडियालाईसमेत जानकारी नदिन भनिएको थियो ।

 

संम्बधित खबर

विशेष