विदेश

गुजरातमा भाजपाको डबल ह्याट्रीक, यी हुन नयाँ मुख्यमन्त्री

गुजरातमा भाजपाको डबल ह्याट्रीक, यी हुन नयाँ मुख्यमन्त्री

काठमाडौं । भारतीय जनता पार्टी (भाजपा)ले गुजरातमा लगातार छैटौँपटक सरकार गठन गरेको छ । एक साताअघि सम्पन्न विधानसभा निर्वाचनमा ९९ सिट जितेको भाजपाले गुजरातमा सरकार गठन गरेको हो । मंगलबार गान्धीनगरमा आयोजित विशेष कार्यक्रममा भाजपाका विजय रुपाणीले मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएका छन् । गुजरात प्रधानमन्त्री नरेन्द्र मोदीको गृहनगर हो ।

भव्य समारोह

भव्य समारोहका बीच शपथ आयोजना गरिएको थियो । समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी, भारतीय जनता पार्टीका अध्यक्ष अमित साहको उपस्थिति थियो । त्यस्तै गुजरातका पूर्वमुख्यमन्त्रीहरूलगायत विशिष्ट अधिकारीको कार्यक्रममा सहभागी थियो । पहेँलो ज्याकेटमा उपस्थित भएका रुपाणीले शपथ लिनुअघि पूर्वमुख्यमन्त्रीहरूसँग छलफल गरेका थिए । शपथ समारोहमा तीनवटा मञ्च तयार गरिएका थिए, जसमध्ये एउटामा साधुहरू मात्र थिए । समारोहमा बिहारका मुख्यमन्त्री नीतीश कुमार र उपमुख्यमन्त्री सुशीलकुमार मोदीको पनि सहभागिता थियो । शपथ लिनुअघि रुपाणी र उनकी पत्नी पञ्चदेव महादेवको मन्दिरमा पुगेर पूजा गरेका थिए । गत डिसेम्बर २२ मा गुजरातमा सम्पन्न भाजपा पार्टीको बैठकले रुपाणी र नीतिन पटेललाई क्रमशः गुजरात सभामा भाजपाको नेता र उपनेतामा चयन गरेको थियो ।

सामान्य बहुमत

१८२ सिट रहेको गुजरात विधानसभामा भाजपाले ९९ सिट प्राप्त गरेको छ । यो संख्या सरकार बनाउनका लागि सामान्य बहुमत हो । गुजरातमा अघिल्लो निर्वाचनको तुलनामा कंग्रेसले धेरै सिट ल्याएको छ, तथापि बहुमत भने पुर्‍याउन सकेन । सन् २०१२ को निर्वाचनमा ११५ सिट ल्याएको भाजपा दुई साताअघि सम्पन्न निर्वाचनमा ९९ सिटमा खुम्चिएको छ भने कंग्रेसले ७७ सिट ल्याएर आफ्नो अवस्था मजबुत गरेको छ । नयाँ संसद्मा कंग्रेस र उसको गठबन्धनको जम्माजम्मी ८० सिट पुग्छ ।

१९ जनाको मन्त्रिमण्डल

मुख्यमन्त्री विजय रुपाणीसँगै उपमुख्यमन्त्री नीतिन पटेल र १९ जना मन्त्रीले मंगलबार नै शपथ लिएका छन् । यसअघि रुपाणी र पटेल क्रमशः मुख्यमन्त्री र उपमुख्यमन्त्री थिए । गुजरात विधानसभामा झिनो बहुमतका बाबजुद भाजपाले दुवैजनालाई पुनः मुख्यमन्त्री र उपमुख्यमन्त्रीमा नियुक्त गरेको हो । मन्त्रिमण्डलमा नौजना नयाँ अनुहार छन् । आगामी सन् २०१९ को लोकसभा निर्वाचनलाई मध्यनजर राख्दै सावधानीपूर्वक मन्त्री चयन गरिएको छ । भाजपा आगामी निर्वाचनमा पुनः बहुमत ल्याउने योजनामा छ । मंगलबार शपथ लिएका मन्त्रीहरूमध्ये सातजना सौरास्त्रबाट छन्, जहाँ भाजपाले विधानसभामा लज्जास्पद पराजय भोगेको थियो । त्यस्तै, पाँचजना दक्षिण गुजरात र दुईजना मध्यगुजरातको प्रतिनिधित्व गर्छन् ।

को हुन् रुपाणी ?

२ अगस्ट १९५६ मा गुजरातको राजकोटमा जन्मिएका विजय रुपाणी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वासपात्र मानिन्छन् । सन् १९९८ मा भारतीय जनता पार्टी गुजरात इकाइको सचिव बनेका रुपाणी सन् २००६ देखि २०१२ सम्म राज्य सभाको सदस्य बनेका थिए । उनी सन् २०१६ को फेब्रुअरीमा गुजरात राज्यको भाजपा अध्यक्षमा निर्वाचित भएका थिए । आनन्दीबेन पटेलले राजीनामा दिएपछि रुपाणीले सन् २०१६ को अगस्ट ७ मा गुजरातको मुख्यमन्त्रीको शपथ लिएका थिए । उनी सन् २०१६ मा गुजरात पर्यटनको अध्यक्षसमेत बनेका थिए ।

विशेष