News

किन गए कुलमान घिसिङ दिल्ली

किन गए कुलमान घिसिङ दिल्ली

काठमाडौं । विद्युत् खरिद सम्झौता नवीकरण गर्न नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायतको उच्चस्तरीय टोली आज भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेको छ।

पुस १६ गतेदेखि सकिन लागेको विद्युत् खरिद सम्झौता नवीकरण गर्ने उद्देश्यका साथ कार्यकारी निर्देशकसहितको टोली भारत प्रस्थान गरेको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिए।

ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत आयात भइरहेको १४५ मेगावाट बिजुलीको सम्झौता नवीकरण गर्न आज बिहानै उच्चस्तरीय टोली त्यसतर्फ प्रस्थान गरेको हो।

भारतको विद्युत् व्यापारको नोडल एजेन्सी विद्युत् व्यापार निगम एनभिभीएन लिमिटेडका अधिकारीसँग घिसिङ नेतृत्वको टोलीले छलफल गर्ने र सम्झौता नवीकरण गर्ने कार्यसूची रहेको छ।

एनभिभीएनबाट बिजुली आयातलाई निरन्तरता दिने विषयमा स्पष्ट जवाफ नआएको र सम्झौताको म्याद सकिन लागेपछि थप छलफल आवश्यक देखिएको प्राधिकरणले जनाएको छ।

ढल्केबर–मुज्जफरपुर अन्तरदेशीय प्रसारणलाइनबाट आयात भइरहेको बिजुलीको सम्झौता पुस १६ गतेदेखि सकिँदैछ। ढल्केबर-मुज्जफरपुर अन्तरदेशीय प्रसारणलाइनबाट १४५ मेगावाट बिजुली प्रतियुनिट पाँच रुपैयाँ ७६ पैसाअर्थात ३.६० भारुमा आयात भइरहेको छ।

भारतबाट विद्युत् उपलब्ध हुन नसकेमा विद्युत्भार कटौती हुने आशंका बढेको भन्दै प्राधिकरणले दिल्ली बैठकलाई महत्वपूर्ण बैठकका रुपमा लिएको छ। भारतबाट नेपालले यस हिउँदका लागि करिब ३७० मेगावाट विद्युत् खरिद गर्ने योजना बनाएको छ। विद्युत् प्रवाहमा सहजता ल्याउनका लागिसमेत थप विद्युत् जरुरी रहेको बताइएको छ।

तीन महिना पहिले प्राधिकरण र एनभिभीएनबीच भएको सम्झौता नवीकरण गरेर विद्युत् आयातमा सहजता ल्याउने लक्ष्य प्राधिकरणले राखेको छ। दिल्लीमा विद्युत् आयात, अन्तरदेशीय प्रसारण लाइन निर्माण लगायतका विषयमा छलफल हुने अधिकारीले बताए।

विशेष