विदेश

डुङ्गा दुर्घटनामा ६ बालबालिकाको मृत्यु

डुङ्गा दुर्घटनामा ६ बालबालिकाको मृत्यु

नयाँ दिल्ली । दक्षिण भारतमा मङ्गलबार भएको एक डुङ्गा दुर्घटनामा परी कम्तीमा पनि छ जना बालबालिकाको मृत्यु भएको समाचार छ ।

यस दुर्घटनामा परी छ बालबालिकाको मृत्यु भएको छ भने, अन्य तीन जनालाई उद्धार गरिएको प्रहरी स्रोतले बुधबार जानकारी दिएको स्थानीय सञ्चारले जनाएका छन् । मलापुराम जिल्लाको पोननानी कोले इलाका नजिकै रहेको जलक्षेत्रमा मङ्गलबार उक्त डुङ्गा दुर्घटना भएको जनाइएको छ ।

सो इलाका केरला प्रान्तको प्रान्तीय राजधानी त्रिवन्त्रमबाट ३५९ किलोमिटर उत्तरमा रहेको जनाइएको छ । मङ्गलबार साँझ नौ जना व्यक्ति लिएर गएको सो डुङ्गा पल्टिँदा छ बालबालिकाको मृत्यु भएको र अन्य तीन जनालाई उद्धार गरिएको मलापपुरामका प्रहरी अधिकारीले सिन्ह्वा समाचार समितिलाई जनाएका छन् ।

घाइतेलाई अस्पताल भर्ना गरिएको जनाइएको छ । विदा मनाउनको लागि आफन्तको घरमा जान लागेका ती बालबालिका दुर्घटनामा परेका हुन् । दुर्घटनामा ज्यान गुमाएकामा चारजना बालक र दुई बालिका रहेका जनाइएको छ । स्थानीय सरकारले यस दुर्घटनाको अनुसन्धान सुरु गर्न आदेश दिएको छ ।

विशेष